कृषि प्रधान देश भनेर चिनिने नेपालले दैनिक करोडौंको कृषिजन्य उत्पादन आयात गर्दछ । देशमा भएका जमिनहरु बाँझो अवस्थामा छन । युवाहरु विदेशीईरहेका छन । स्वदेशमा स्वरोजगार बन्नका लागि मेहनत गर्ने आँट कसैलाई छैन । जसले गर्दा दिनानुदिन कृषियोग्य जमिन प्लटिङ भैरहेका छन । विदेशमा काम गर्ने र तराईतिर प्लटिङ गरेको जमिनमा घर बनाउने काम निरन्तर भैरहेका छन । पछिल्लो समयका युवावर्गहरु जति पढेलेखेपनि विदेश जाने योजना मात्रै बनाईरहेका छन ।
कृषि प्रधान देशमा कृषिका उत्पादनहरु दैनिक आयात गर्नु देशकै लागि दुःखद कुरा हो । नेपालमा प्रायजसो सबै कृषिजन्य उत्पादनहरु उत्पादन गर्न सकिने माटो छ । यहाँको माटोबाट विदेशी भूमीमा उत्पादन भएका भन्दा गुणस्तरिय र स्वादिष्ट कृषि सामग्रीहरु उत्पादन हुन्छन ।

बेरोजगारीको बहाना बनाएर युवाहरु विदेशीईरहेका छन । विदेशमा ८ घण्टा मर्ने गरी पसिना बगाउने नेपाली युवाहरुले स्वदेशको माटोमा भने १ घण्टा काम गर्दैनन् । विदेशीएका युवावर्गहरुले स्वदेशमै कृषिजन्य उत्पादनका लागि ८ घण्टा काम गरेको भए सम्भवतः नेपाल पनि कृषिजन्य उत्पादनमा आत्मनिर्भर भैसक्थ्यो होला ।

हुन त एकातिर सरकारले कृषिमा केही उत्प्रेरणा जगाउने र कृषिलाई प्रर्वद्धन गर्ने खालका योजनाहरु ल्याउन सकेको छैन । त्यसैले पनि कृषि पेशामा लागेका कयौं युवाहरु विदेश पलायन भएका छन । तर सरकारको मुख नताकेरै कृषिमा आत्मनिर्भर बनेका र मासिक लाखौ कमाई गरिरहेका किसानहरु पनि यहाँ छन । जसले आफ्नो मेहनतले कृषि गरेर खाईरहेका छन ।
सरकारबाट अनुदान पाउनका लागि कृषि कर्म गर्ने कृषक सफल हुन सक्दैन । कृषि कर्म गर्ने व्यक्तिले निरन्तर मेहनत गर्नुपर्छ । कसैको भरमा पर्नुहुदैन । देशमा तिन तहका सरकार आएसँगै बढेको कृषि कार्य गर्ने किसानहरुको संख्या घट्दै गईरहेको छ ।
सरकारले कृषिमा अनुदान नीति ल्याउदा झोलामा कृषि काम गर्ने किसानहरु बढी सल्बलाएका थिए । जसका कारण वास्तविक किसानले सरकारको सहयोग पाउन सकेनन् । अनुदानको नीतिमा परिवर्तन ल्याए र नियमित अनुगमनको पाटोलाई पनि ध्यानमा राख्न सके वास्तविक किसानहरुले सरकारले सहयोग पाउने कुरामा दुई मत छैन । तर सरकारले हालसम्म पनि त्यस्तो गर्न सकिरहेको छैन । विगतको तुलनमा केही व्यवस्थापन भएपनि अझै कृषि अनुदानको नीतिमा परिवर्तन ल्याउन जरुरी छ ।
अनुदानकै लागि कृषिमा लागेका किसानहरुले कृषि पेशा छाडेपछि कृषिमा केही छैन भन्ने भ्रम सृजना हुदाँ नै पछिल्लो समय कृषि पेशाको माहोल सेलाउदै गएको हो । पढेलेको व्यक्तिले स्वदेशमा कृषि कर्म नगर्ने तर सोही काम विदेशमा गएर गर्ने परिपाटीले पनि नेपालको कृषिलाई कमजोर बनाईरहेको छ । पढेलेखेका युवाहरुले कृषिक्षेत्रमा हात हाल्दा असफल हुने भन्ने हुदैन ।
तर त्यसका लागि मेहनत पनि आवश्यक हुन्छ । युवाहरुले विदेशीनुको साटो स्वदेशमै कृषि कार्य गर्न सके देशको लाखौ, करोडौ रकम बाहिर जान पाउँदैन र युवाहरु पनि आत्मनिर्भर बन्न सक्छन । तसर्थ नेपालको कृषि क्षेत्रलाई प्रर्वद्धन गर्ने हो भने युवाहरुले जागरुक बन्न जरुरी छ ।















