अत्तरिया – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीले अत्तरियामा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल ग्राहकको रोजाइमा पर्न सकेको छैन् । वर्षभरी डिपो कार्यालय अत्तरियामा सञ्चालन रहने भएपनि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी डिपो कार्यलयमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । तर, सुपथ मूल्य पसल सञ्चालन गरिएपनि चिनी नराखिँदा पसल सुनसान बनेको हो ।
डिपोमा हाल नुन, स्वस्तिक तोरी तेल र चिउरा मात्रै सुपथ मूल्यमा उपलब्ध छन । सुपथ मूल्य पसलमा तेल र चिउरामा ७/७ र नुनमा २ रुपैयाँ छुट दिइएको छ । तर, ग्राहकले बढी खोज्ने चिनी सुपथ मूल्य पसलमा उपलब्ध नहुँदा ग्राहक न्यून आउने गरेको डिपोकी प्रमुख लक्ष्मी भण्डारीले बताइन् ।



वर्षभरी सञ्चालन हुने सुपथ मूल्य पसलमा दाल, चियापत्ती, साबुन लगायतका सामाग्री पनि राखिएका छन । जुन सामाग्री बजार मूल्य भन्दा पनि कम मूल्यमा बिक्री हुने गरेको डिपो प्रमुख भण्डारीले बताइन् । डिपोमा हाल दैनिक २० देखि २५ जना मात्रै ग्राहक आउने गरेको उनले बताइन ।
‘डिपोमा चिनी उपलब्ध भएमा ग्राहकहरूको भिड नै लाग्ने गथ्र्यो’ उनले भनिन् ‘यस वर्ष चिनी नहुँदा मानिसहरू खासै आउने गरेका छैनन् ।’साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सहायक प्रबन्धक तेजबहादुर कुँवरले चिनी नहुँदा सुपथ मूल्य पसलमा ग्राहक कम आएको बताए ।
अत्तरियामा डिपो कार्यालय वर्षभरी सञ्चालन रहने भएपनि सुपथ मूल्य पसल भने मंसिर ३ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

















