खाेज्नुहाेस

स्वास्थ्य मन्त्रालयद्धारा गेटामा ओपिडी सेवा सुरु गदिदैं

Image

अत्तरिया – शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गेटा अस्पतालले आज देखि ओपिडी सेवा सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षको बजेटमा गेटा अस्पताललाई एक सय शय्याको अस्पतालका रूपमा विकास गर्न उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था भएबमोजिम बुधबारदेखि ओपिडी लगायतका सेवा सुरु गर्न लागिएको हो ।

जसअन्तरगत जनरल ओपिडी, हाजजोर्नी नथा नसारोग ओपिडी, स्त्रीरोग ओपीडी, जनरल सर्जरी ओपीडि, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा संचालन गरिने अस्पतालका निर्देशक डा. प्रमोद जोशीले बताएका छन ।

attariya hospital

उक्त सेवा संचालनका लागि ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएर २६ जना जनशक्ति अस्पतालमा हाजिर भएको उनले बताए । स्वीकृत दरवन्दीमा ११ जना विशेषज्ञ डाक्टर रहेका छन । निर्देशक जोशीले १ सय शैय्याको अस्पताल संचालनका लागि बजेट उपलब्ध भएकाले यसलाई ओपिडी संचालन भएसंगै कार्यान्वयमा लगिने बताए ।

गेटामा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले अस्पताल भवन, आवासहरु एंव प्रशासनिक भवनहरु निर्माण गरेको छ । जसमध्ये अस्पताल भवनमा ओपिडी संचालन गर्न लागिएको हो भने अन्य भवन अझै पुर्वाधार निर्माण विकास समिति मातहतमै रहेका छन । हाल पुर्वाधार निर्माण विकास समितिको म्याद १ बर्ष थप गरेर पुर्वाधार निर्माणको काम पनि जारी रहेको छ ।

अस्पताल संचालन गर्न कहिले के निर्णय गरिए

गेटामा २०७८ चैत्र १४ को मन्त्रिपरिषद् बैठकले कम्तिमा ३०० शैय्या रहने गरी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो भने पुनः नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ ३१ गते गेटामा मेडिकल कलेज तथा अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० असोज १२ गते मन्त्रिस्तरीय निर्णयबाट आर्थिक बर्ष २०८०/८१ का लागि राजपत्र अनंकित सहायकस्तर र श्रेणीविहिन गरी ११० जना र नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० असोज १६ को निर्णयानुसार राजपत्रांकित तथा अधिकृतस्तरका ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत गरिएको थियो ।

आथिक बर्ष २०८०÷८१ को बजेटमा गेटा अस्पताललाई एकसय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको थियो । जसमा एक सय शय्याको अस्पताल संचालन गर्न चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम विनियोजन गरिएको थियो ।

उक्त रकम भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयबाट स्वीकृति भई बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन अस्पताललाई दिइएको थियो । जसमा टेकेर हाल गेटा अस्पतालमा ओपिडी सेवा सुरु भएको हो । ओपिडि सेवा सञ्चालनका लागि भदौ २१ गते सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरि मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

हाल प्रशासनिक तथा व्यवस्थापकीय साथै स्वास्थ्य सेवा सञ्चालन प्रयोजनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एंव स्वास्थ्य सेवा विभागको सहयोगमा चिकित्सक तथा स्वास्थ्यकर्मि व्यवस्थापन कार्य भईरहेको छ । जसअनुसार हाल निर्देशक सहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायतका हाल २६ जना जनशक्ति अस्पतालमा हाजिरी भएका छन भने न्यूनतम सेवा संचालनका लागि मेडिकल सामानहरु हस्तानरण गरिएको छ ।

ओपिडीमा पाइने सेवा

मंगलबार अस्पतालमा पत्रकार सम्मेलन गरेर ११ जना विशेषज्ञ चिकित्सक सहित ओपिडी सेवा सुरु गरिने जानकारी दिइएको थियो । अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार बुधबार देखि अस्पतालमा जनरल ओपिडि, हाजजोर्नी नथा नसारोग ओपिडि, स्त्रीरोग ओपीडी, जनरल सर्जरी ओपीडि, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा, फार्मेसी सेवा संचालन हुनेछन ।

यस्तै कातिक महिना भित्र एमसिएच क्लिनिक, मंसिर महिना भित्र खोप सेवा विस्तार, मंसिर मसान्त सम्म अन्तरङ्ग सेवा विस्तार, पौस महिना भित्र इमरजेन्सी सेवा र प्रसुती सेवा विस्तार, चैत्र महिना भित्र शल्यक्रिया सेवा विस्तार, बैशाख भित्र आइसियु तथा एनआइसियु सेवा विस्तार गर्ने लक्ष्य लिइएको अस्पतालका निर्देशक जोशीले बताए । उनले विमाबाट प्राप्त हुने सेवा पनि प्रक्रियामा रहेको बताए ।

विश्वविद्यालयको विधेयक संसदमा

गेटामा प्रस्ताविक गेटा मेडिकल कलेजका नाममा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिले संरचना निर्माण गरेपछि सरकारले २०७९ माघ २९ गते गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० असोज १९ गते राष्ट्रिय सभामा पेश भएर पारित भइसकेको छ भने प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरिएको छ ।

विधेयक दुवै सदनबाट पारित भए सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालय चिकित्सा शिक्षा मात्रै पठनपाठन गराउने नेपालकै पहिलो विश्वविद्यालय हुनेछ । मन्त्रिपरिषद् बैठकले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयको मस्यौदा तयार गरेर विधेयक अघि बढाएको थियो ।