खाेज्नुहाेस

विपद पुर्व तयारी योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्न जोड

Image

अत्तरिया – विपद पूर्व तयारी र पुर्नप्राप्ती योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्न जोड दिइएको छ । कैलालीको गोदावरीमा आयोजना गरिएको संवाद कार्यक्रममा सहभागीहरूले विपदको समयमा पनि यौन तथा प्रजनन स्वास्थ्यको आवश्यकता निरन्तर रहने भएकाले विपदको योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई समावेश गर्न जोड दिएका हुन । अधिवक्ता शंकर सिह धामीले विपद पूर्व तयारी र पुर्नप्राप्ती योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार नीतिगत रूपमै समावेश गरिनुपर्ने बताए । उनले अहिले पनि तिनै तहका सरकारले बनाएका विपद पूर्व तयारी नीतिमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषय स्पष्ट रुपमा नसमेटिएको बताए ।

उनले विपदको समयमा असुरक्षित यौनजन्य क्रियाकलाप हुने, परिवार नियोजन सेवा प्रभावित हुने, असुरक्षित गर्वपतन, यौन हिंसा, बलात्कार, बालविवाह, कम उमेरमा विवाह, जबरजस्ती विवाह, मानव बेचबिखनको जोखिम बढ्ने भएकाले यसबाट बच्न नीति बनाएर काम गरिनुपर्ने बताए ।

add everest academy
attariya hospital

सुदूरपश्चिम प्रदेशमा प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ भएपनि त्यसमा पनि प्रस्ट रुपमा विपदका कुरा नसमेटिएको उनले बताए । उनले जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति रहेपनि यसको उद्देश्यमा विपदका कुरा नसमेटिएको बताए । गोदावरी नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ तयार गरेको छ । उक्त ऐनमा पनि विपदको समयमा यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा गरिनुपर्ने काम स्पष्ट रुपमा समावेश गरिएको छैन ।

बनेका नीति कार्यान्वयनमा जोड

attariya technical collage

महिला कानुन र विकास मञ्च (एफब्लूएलडी) ले आयोजनामा गरेको बहसमा सहभागि नगरका स्वास्थ्यकर्मीहरूले भने नयाँ नयाँ नीति बनाउने भन्दा पनि बनेका नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जोड दिएका थिए । नगरको नीतिमा विपद पूर्व तयारी योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्न आयोजित बहसमा गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव वीर बहादुर कुँवरले नयाँ नीति नियम बनाउने भन्दा पनि बनेका नीति कसरी कार्यान्वयन गर्ने भन्ने तर्फ सङ्घसंस्थाले ध्यान दिनुपर्ने बताए ।

navjiwan hospital

‘सामान्य अवस्थामै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बनेका नीति नियम कार्यान्वयन हुन नसकेको अवस्थामा विपदका समयका लागि छुटै नीति बनाउन आवश्यक छैन’ उनले भने ‘प्रजनन अधिकारका बारेमा धेरै मानिसहरूलाई सामान्य समयमै के गर्ने भन्ने कुरा थाहा छैन । हामी विपदका समयमा के गर्ने भनेर बहस गरिरहेका छौ । विपद थोरै समयका लागि आउने हो ।’ सामान्य समयमा दिन सकिने प्रजनन सेवा पूर्ण रुपमा दिन सकिएको अवस्थामा मात्रै विपदको समयमा नीति बनाएर यस्ता सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने उनको तर्क थियो ।

मालाखेती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी यशोधा ढकालले विपदका समयमा दिइने यौन तथा प्रजनन स्वास्थ्यका विषमा छलफल भइरहदा सामान्य समयमा दिने सेवाको अवस्थामै धेरै काम गर्न बाँकी रहेको बताइन् । उनले गोदावरीमा अझै छाउपडी, असुरक्षित गर्भपतन गराउने, प्रजनन स्वास्थ्य सम्बन्धी सचेत नहुने महिलाको संख्या धेरै रहेको बताइन् ।

‘नीतिगत रुपमा हामीले ठूलाठूला कुरा गरिरहेका हुन्छौ तर अझै धेरै महिलाहरू सामान्य प्रजनन स्वास्थ्यका बारेमा जानकार छैनन्’ उनले भनिन् ‘महिलाहरूले अहिले पनि गलत गरिकाले गर्भ निरोधका साधन प्रयोग गरिरहेका छन । तर, त्यसलाई रोक्न पर्याप्त सचेतना दिन आवश्यक छ । विपदका बारेमा कुरा गर्ने भन्दा सामान्य समयमा कसरी महिलापुरुषलाई सुरक्षित बनाउने भन्ने बुझ्न आवश्यक छ ।’ उनले अहिले पनि छोरा पाउने आशामै ७/८ पटक सम्म गर्भपतन गराउने महिलाहरूको संख्या धेरै भएको बताइन् । नीतिगत रुपमा धेरै काम भएकाले अब नीति मात्रै बनाउने भन्दा पनि कार्यान्वयनमा जान आवश्यक रहेको उनको भनाइ थियो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले विपदको समयमा कसरी यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने भनेर ऐन नबने पनि काम भने भइरहेको बताए । उनले कोरोनाकै समयमा पनि यौन तथा प्रजनन स्वास्थ्यलाई ध्यान दिएर काम गरिएको बताए । कोरोनाको समयमा गरिएको लकडाउनमा मात्रै सीमाबाट नेपाल आउने व्यक्तिलाई १ लाख बढी गर्भनिरोधक साधन कण्डम वितरण गरिएको उनले बताए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले पनि बनेका ऐन, नीति नियम कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताइन् । यद्यपि नगरपालिकामा विपद पूर्व तयारी योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेटेर नीति बनाउन आफूले पहल गर्ने उनले भनाई थियो । उनले नीति नियम बनेर मात्रै नहुने भएकाले सोही अनुसार सोचमा पनि परिवर्तन आउन आवश्यक रहेको बताइन ।

उनले नगरको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले भनिन् ‘गोदावरीका चाप, सल्लीमा अझै पनि स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी छ । यस्ता ठाउँमा सङ्घसंस्थाले पनि सहयोग गर्नुपर्छ’ उनले भनिन् ‘नगरपालिकाले भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई घर दैलोमै गएर स्वास्थ्य सेवा दिइरहेको छ । नगरपालिकामा ज्येष्ठ नागरिकले पनि घर दैलोमै स्वास्थ्य सेवा पाएका छन ’ उनले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केही सुधारका काम भएको बताइन् ।