खाेज्नुहाेस

बाजुराको स्याउलाई बजारको समस्या

Image

धनगढी — बाजुराको पाण्डुसेन गाउँका बगानमा स्याउ लटरम्म छ । हरेक बोटमा हाँगैं भाँचिने गरी स्याउका दाना झुलेका छन् । लटरम्म फलेर राताम्मे स्याउ बारीको दृश्य मनमोहक देखिन्छ । सडक आसपासका बगैंचाहरुमा टमाटर फलेझै भएका स्याउ बारीको टिकटक, भिडियो र फोटो खिच्नेहरु हतार गरिरहेका हुन्छन् ।

हरेक वर्ष झै यसपालि पनि बुढीनन्दा नगरपालिकाको पाण्डुसेन गाउँभरि स्याउ मनग्य फलेका छन् । पाण्डुसेनकै डेढ सयभन्दा बढी परिवारका स्याउबारी छन् । थोरै हुने परिवारका ५०/६० बोट छन् । पाण्डुसेनमा सबैभन्दा धेरै स्याउबारी भएका पुरबहादुर रावतका साढे तीन हजार बोट राताम्मे छन् ।

attariya hospital

पाण्डुसेनमा बाटोमा ओहोरदोहोर गर्ने यात्रीहरुले बोटबाटै रोजिछानी स्याउ किनिरहेका हुन्छन् । बाजुरामा अत्यधिक स्याउ उत्पादन हुने अर्को ठाउँ स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोट पनि हो । जुकोटका लेकमा पनि यतिबला पाण्डुसेनकै जस्तो अवस्था छ । राताम्मे स्याउ दानाले जुकोटमा स्याउ बगैचाहरु मनमोहक छन् । जुकोटका ७० भन्दा बढी किसानमा स्याउबारी छन् । स्थानीयका अनुसार कम्तीमा दुई सय बोट त सबै परिवारका छन् ।

विभिन्न जातका यति धेरै स्याउ फलाए पनि पाण्डुसेन र जुकोटका किसानले कहाँ बेचेर राम्रो दाम पाउने भन्ने टुंगो छैन । झण्डै साढे तीन हजार बोटमा लटरम्म फलेका स्याउ बिक्री नभएर कुहिएर जाने चिन्ता पुरबहादुर रावतलाई छ । अन्य किसानहरुको चिन्ता पनि रावतको भन्दा फरक छैन ।

navjiwan hospital

उनको बगैचामा पुरानासहित नयाँ–नयाँ जातका स्याउ फलेका छन् । गोल्डेन, रोयल, गोल्डेन डेलिसियस, गाला, फुजीलगायत उनको बारीमा प्रशस्त छन् । उनका अनुसार फुजी र गाला नयाँ गुणस्तरका स्याउ हुन् । ‘सबै गरेर करिब एक हजार क्वीन्टल स्याउ फलेको छ । गाला र फुजी प्रजातिको स्याउ करिब २५ क्वीन्टल जति होला,’ रावतले भने ‘तर बिक्री गर्ने बजार छैन । बारीमै आएका बटुवाहरुले जति किन्यो किन्यो ।’

बारीमा प्रतिकिलो ५० रुपैयाँमा स्याउ बिक्री गरिरहेको रावतले बताए । ‘सदरमुकाम मार्तडी र कोल्टीसम्म पुर्‍याउन पाएको भए पनि डेढ सय रुपैयाँ प्रतिकिलो बिक्री हुन्थ्थो,’ उनले भने ‘पाण्डुसेनबाट मार्तडी आउने कोल्टी जाने दुवैतिरको सडकमा पहिरो गएर लामो समयदेखि अवरुद्ध रहेकाले ती स्थानीय बजारसम्म पनि ढुवानी गर्न सक्ने अवस्था छैन । तराई वा काठमाडौंसम्म पुर्‍याउने त कल्पनै नगरौं, । काठमाडौंको एउटा तारे होटलले स्याउ माग गरिरहेको भए पनि ढुवानी गर्न कठिन भएकाले पुर्‍याउन सक्ने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार पाण्डुसेनदेखि कोल्टी जाने सडकमा दानसाँघुलगायत दुई ठाउँमा सडक यातायात चल्न नसक्ने अवस्था छ भने सदरमुकाम मार्तडीतर्फ आउने सडकमा चार ठाउँमा पहिरो छ । जिल्ली, रजातेली, बाउलीलगायत ठाउँमा गएको पहिरोले मार्तडी–कोल्टी सडक अवरुद्ध छ । ‘फल पाकेर झर्न थालेको र झरेका दाना कुहिएर जान थालेपछि पशु चौपायालाई खुवाउनु परेको छ,’ रावतले दुखेसो पोख्दै भने ‘बजारसम्म पुर्‍याउन सकिएन भने उत्पादन गरेर मात्र नहुने रहेछ ।’

एक साताअघि पाण्डुसेनमा सबैभन्दा बढी स्याउ बारी भएका पुरबहादुर राउतले लटरम्म स्याउ फलेर राताम्मे भएको आफ्नै बारीको भिडियो पोष्ट गरे । भिडियोमा उनले आफ्नै भाषामा भनेका थिए ‘सरकार बाटो बनाइदे, बजार देखाइदे, देश समृद्ध बनाउन हामी किसान उत्पादनमा जुट्न तयार छौं ।’ गाउँमै कोल्ड स्टोर भएको भए पनि उत्पादित स्याउ त्यसै खेर जाने अवस्था नहुने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाभर झण्डै साढे तीन सय हेक्टरमा स्याउ खेती गरिएको छ । सरदरमा वार्षिक ७ सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ ।

कान्तिपुरबाट