काठमाडौं – अभिनेता एवम् गायक प्रकाश सपुतको आफ्नै ब्यानरको चलचित्र ‘वसन्त’सहित लगातार पाँच वटा चलचित्र व्यावसायिक रूपमा असफल भयो ।
एकातिर चलचित्रको असफलता र अर्को तर्फ राजनीतिमा पनि सांसद बन्ने अवसर नपाएपछि निराश भएका प्रकाश सपुत माथि उठेने आशा सहित राजनीति सहित चलचित्रमा फर्किए । उनको पछिल्लो चलचित्र ‘परालको आगो’ले प्रकाशलाई राहत दिएको छ । यो चलचित्र यति बेला सफल चलचित्रको सूचीमा परेको छ ।


प्रकाशको चलचित्र ‘परालको आगो’ले स्वदेशी बक्स अफिसमा ४ करोडको भन्दा माथिको व्यापार गरेको छ । दुई साताअघि रिलिज भएको यो चलचित्र २०८३ सबैभन्दा बढी कमाउने चलचित्रको सूचीमा पनि परेको छ । स्वदेश र विदेश गरेर यो चलचित्रले ६ करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।
चलचित्र विकास बोर्डले सोमबार जारी गरेको बक्स अफिस रिपोर्ट अनुसार शनिवार रातीसम्म चलचित्र ‘परालको आगो’ले नेपालमा ४ करोड भन्दा माथिको व्यापार गरेको छ । सुशील पोखरेल निर्मित यो चलचित्रले रिलिज भएको दुई साता २६ वैशाख मध्यरातसम्म नेपालमा कुल व्यापार ४ करोड ९ हजार ६६ रुपैयाँ ग्रस व्यापार गरेको छ । दुई सातामा यो चलचित्रलाई १ लाख ४३ हजार ५७० जना दर्शकले टिकट खरिद गरेर चलचित्र घरमा हेरेको पनि बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
कथाकार गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’लाई चलचित्रको रूपमा निर्माण गरिएको हो । यो चलचित्रमा ८ दशक अघिको समाज प्रस्तुत गरिएको छ । जसमा प्रकाश सपूतसँगै सुहाना थापा, सौगात मल्ल, सृजना अधिकारीलगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।



















