बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका–३ की वडा सदस्यको भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश बहादुर शाहीले दिएको जानकारी अनुसार थापा वडा नम्बर ६ फालासैन बजारबाट घर फर्किने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा पैदल बाटोबाट करिब ५० मिटर तल सडकमा खसेकी थिइन् । घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीको घटनास्थल पुगेको छ ।

साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी शाहीले बताएका छन ।

















