धनगढी – रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार यसै वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डार निर्माणको अन्तिम चरणका विद्युत् जडान तथा ‘रेफ्रिजेरेसन’लगायतका काम भइरहेका छन् । निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहेकाले यसै वर्षबाट सञ्चालन गर्नेगरी काम भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले बताए ।

शीतभण्डार निर्माणपछि रानी जमरा कुलरिया शीतभण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिनेछ । रानी जमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मूल कुला समितिले यतिबेला शीतभण्डारको सेयर वितरण गरिरहेको छ । एकाइका प्रमुख कँडेलले शीतभण्डार गत वर्ष ८५ प्रतिशत निर्माण सम्पन्न भएको र यस वर्ष बाँकी काम सुरु भएको जानकारी दिए ।

‘बाँकी रहेको निर्माण र विद्युत् तथा रेफ्रिजेरेसन कार्य भइरहेको छ’, उनले भने, ‘यी दुई कार्यका लागि छुट्टाछुट्टै ठेक्का गरी रु एक करोड ३४ लाख ६६ हजार ९१५ मा निर्माण सुरु भएको छ । अहिले आयोजनाको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लगानी छ ।’
यसअघि आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा रु सात करोड छ लाख ६९ हजारमा शीतभण्डार निर्माण भएको हो । एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार विशेष गरी आलु भण्डारणका लागि प्रयोग गर्ने योजना छ ।



















