खाेज्नुहाेस

विकास र समृद्धिको एजेन्डा तय गर्न ‘सुदूरपश्चिम कचहरी’ हुने

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको समग्र विकास, नीतिगत सुधार र आर्थिक समृद्धिको मार्गचित्र कोर्ने उद्देश्यका साथ आगामी जेठ २ र ३ गते धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’को आयोजना गरिएको छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना र सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको प्राविधिक सहकार्यमा बृहत् कचहरी संवाद कार्यक्रम हुन लागेको हो ।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले प्रदेशका लुकेका सम्भावनालाई उजागर गर्न र समृद्धिको साझा दृष्टिकोण तय गर्न कचहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दुई दिनसम्म चल्ने कचहरीमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार र रोजगारीजस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर नीतिगत बहस हुनेछ । कार्यक्रममा सुरक्षित आप्रवासन, सुशासन र प्रदेशको वर्तमान आर्थिक अवस्थाका चुनौतीका बारेमा समेत विज्ञहरूबीच गहन छलफल हुने आयोजकले जनाएको छ ।

attariya hospital
navjiwan hospital

संवादबाट प्राप्त निष्कर्ष र सुझावलाई ‘सुदूरपश्चिम घोषणापत्र’का रूपमा सार्वजनिक गरिने फाउन्डेसनका अध्यक्ष शाहीले बताए । ‘उक्त घोषणापत्रलाई प्रदेश र संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन सिफारिस गरिनेछ,’ उनले भने ।

पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले प्रदेशको विकास प्राथमिकता निर्धारण गर्न र लगानीमैत्री वातावरण बनाउन यस्तो संवादले ठोस कार्ययोजना दिने बताए । उनले नीतिगत तहमा रहेका अस्पष्टता चिर्न र विकासका मुद्दामा सबै सरोकारवालाबीच समझदारी निर्माण गर्न यो कचहरी कोसेढुङ्गा साबित हुने उल्लेख गरे ।

कार्यक्रममा तीनै तहका सरकारका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, निजी क्षेत्रका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता रहनेछ । विकासको बहसलाई एउटै मञ्चमा ल्याएर सरकार र समुदायबीचको समन्वयलाई थप बलियो बनाउन यो कार्यक्रम सफल हुने आयोजकको दाबी छ । सम्भावना भएर पनि पछाडि परेको सुदूरपश्चिमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कचहरीले नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।