डोटी– डोटीमा बोलेरो जिपले नगरबसलाई ठक्कर दिँदा ५ जना घाईते भएका छन । जिल्लाको शिखर नगरपालिका–१० बान्डुङग्रीशैनमा बोलेरो जिपले नगर बसलाई पछाडिबाट ठक्कर दिँदा पाँच जना घाइते भएका हुन ।

बुधबार बिहान करिब साढे ९ बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ज ००१६ नम्बरको बोलेरो जिपले सोही दिशातर्फ गइरहेको शिखर नगरपालिकाको से १ ख २००६ नम्बरको बसलाई रोकिएको अवस्थामा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ की १३ वर्षीया प्रियंका बिष्ट, शिखर नगरपालिका– १० का ७० वर्षीय दीर्घबहादुर बलायर, बाजुराको बडिमालिका नगरपालिका–१ की ५० वर्षीया कलसी थापा, बडिमालिका– ९ का २६ वर्षीय भीष्म भट्ट र बुढीगंगा नगरपालिका– ९ की ६० वर्षीया सीता देवी थापा रहेका छन् ।
प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने प्रियंका बिष्टको टाउकोमा चोट लागेकाले अवस्था मध्यम रहेको छ । सबै घाइतेको स्थानीय शिखर पोलिक्लिनिकमा उपचार गरिएको छ । दुर्घटनामा संलग्न बोलेरो जिप र चालक बाजुरा बुढिगंगा– ८ बरबिसे का जय कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

















