अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का भान बहादुर बिष्ट दिनभरी ज्याला मजदुरीको काम गर्छन् । उनले मदजुरी गरेर छोराछोरीलाई सरकारी विद्यालयमा पठाईरहेका छन । कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा रहेको सरस्वती नमूना मावि कक्षा १० मा अध्ययनरत उनका छोरा दिनेश विष्टले साउन १९ गते इलेक्ट्रिकल मोटरसाइकल बनाएर सार्वजनिक गरेपछि भने अहिले उनी चर्चामा छन । दैनिक ज्यालामजदुरी गरेर चलेको परिवारबाट निकै कडा मिहेनत गरेर दिनेशले मोटरसाइकल बनाएपनि उनलाई यो काम गर्न भने आर्थिक रुपमा त्यती सहज थिए ।
‘छोरो सानैदेखि विद्यालयबाट आउँदा पनि बिगे्रेका इलेक्टोनिक समान खोलेर अध्ययन गरिरहन्थ्यो’ उनले भने ‘छोराले मोटरसाइकल बनाउनु भन्दा अगाडी ३ पाङ्ग्रे बग्गी बनाएको थियो । त्यतिबेला पैसा नहुँदा मैले सहकारीबाट भैंसी पालन गर्छु भनेर १ लाख ऋण निकालेको थिए ।’ उनले छोराको इच्छा र लगन देखेर आफूले उसको इच्छा पुरा गर्न ऋण निकालेर भएपनि सहयोग गरिरहेको बताए ।

पछिल्लो पटक इलेक्ट्रिकल मोटरसाइकल बनाउँदा भने उनले ज्याला मजदुरी गरेर जग्गा गरेको ६०/७० हजार छोरालाई मोटरसाइकल बनाउन सहयोग गरेका थिए । उनले छोराको काम देखेर आफूले गौरभको महशुस गरेको बताए । उनले यस्ता विद्यार्थीलाई सरकारले सहयोग गरिदिए सहज हुने बताए ।

दिनेशले बुवाको मजदुरी गरेर कमाएको रकमबाट इलेक्ट्रिकल मोटरसाइकल बनाएर कृष्णपुर नगरपालिकाका नगरप्रमुखको हातबाट उद्घाटन गराएका थिए । स्थानीय सरकारबाट आफ्नो आविष्कार देखेर केही सहयोग पाउने आसामा उनले नगरप्रमुखबाट उद्घाटन गराएका भएपनि आश्वासन बाहेक केही पाएनन् । दिनेशले आफूले इलेक्ट्रिकल मोटरसाइकल बनाएपछि केही कलेजहरुले भने एसइइ पछि पढ्नको लागि स्कलरसिपको अफर गरेको बताए ।

हाल सीसीटिभी सेक्युरेटिको बिषयमा रिसर्च गरिरहेका उनले आर्थीक अभाव हुँदा काम गर्न नसकेको बताए । ‘पछिल्लो समय सीसीटिभी क्यामेरा नै चोरेर वा बन्द गरेर चोरी भइरहेका घटना बाहिरीरहेका छन’ उनले भने ‘मैले सीसीटिभी क्यामेरा वा त्यसको सिष्टममा छुने बितिकै आलाराम बज्ने सिष्टमको विकास गर्न खोजिरहेको छु । तर, केही सामान खरिद गर्नको लागि आवश्यक रकम नहुँदा काम रोकिएको छ ।’
दिनेशको जस्तै कैलालीको गोदावरी नगरपालिका – ५ का पारस साउँदले पनि असार ५ गते इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेर गोदावरी नगरपालिकाका नगरप्रमुखमा मार्फत उद्घाटन गराएका थिए । गेटामै रहेको सरस्वती नमूना मावि कक्षा १० मै अध्ययनरत पारसले पनि आफ्नै घरको लगानीमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका थिए ।
मोटरसाइकलको उद्घाटन गर्दै नगरप्रमुख विरेन्द्र भट्टले तत्काल ५० हजार सहयोग गर्ने घोषणा गरेपनि उक्त रकम अहिले सम्म नपाएको पारसले बताए । उनले लामो सयम सम्म घोषणा गरिएको रकम किन नपाइएको भनेर बुझ्न नगरमा जाँदा अझै समय लाग्ने जानकारी पाएको बताए । पारसले पनि १ लाखको निजी लगानीमा इलेक्ट्रिकल मोटरसाइकल बनाएका थिए ।

उनले इलेक्ट्रिकल मोटरसाइकल बनाएपछि धनगढीमा रहेको एसपीए कलेजले भने कक्षा ११/१२ मा निःशुल्क पढ्नको लागि स्कलरसिप दिने घोषणा गरेको बताए । उनले राज्यपक्षबाट भने अहिले सम्म कुनै सहयोग नपाएको बताए । उनले आफू पढ्ने विद्यालयबाट पनि यस्ता आविष्कार गर्नको लागि कुनै सहयोग नहुने गरेको बताए ।
सरस्वती नमूना माविका विज्ञान विषयका शिक्षक केशव पाण्डेले आफ्नो विद्यालयमा प्रतिभावान विद्यार्थी भएपनि विद्यालयबाट भने सहयोग गर्न नसकिएको बताए । उनले २ जना आफ्नै विद्यालयका विद्यार्थीले आफ्नै लगानीमा इलेक्ट्रिकल मोटरसाइकल बनाउँदा कुनै सहयोग गर्न नसकिएको बताए ।
नेपालमा पछिल्लो समय सैदान्तिक शिक्षा मात्रै दिइदा बेरोजगारीको दर बढेको बताइने गरेको भएपनि विद्यालयमै आफ्नै लगानीमा बिभिन्न नयाँ नयाँ उत्पादनमा लाग्ने विद्यार्थीलाई पनि सहयोग नगरिदा उनीहरुको मनोबल घट्ने गरेको छ ।

















