खाेज्नुहाेस

गोदावरीका एम्बुलेन्सले निर्देशिका विपरित निजी भन्दा महङ्गो शुल्क असुल्दै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको एम्बुलेन्सले मापदण्ड विपरित महङ्गो शुल्क लिएको पाइएको छ । नगरपालिका मातहतमा रहेको मालाखेती अस्पतालबाट संचालित एम्बुलेन्सले गर्भवती महिलालाई मालाखेती देखि धनगढी (सेती अस्पताल) पु-याएकै भाडा १ हजार ६ सय शुल्क लिएपछि सो तथ्य बाहिरिएको हो ।

गोदावरी नगरपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार धनगढीको एम्बुलेन्स भाडा एक हजार मात्रै पर्ने भएपनि मालाखेतीबाट संचालित एम्बुलेन्सले भने गर्भवतीबाटै १ हजार ६ सय लिएको छ । निर्देशिकामा जिल्लाका अन्य पालिकामा प्रति किलोमिटर ३० र इन्धन प्रति ७ किलोमिटर बराबर १ लिटर हुने उल्लेख छ । यस हिसावले मालाखेती देखि सेती अस्पताल १७ किलोमिटरको ५१० र इन्धन ३ लिटर जोडे पनि ४९५ गरी १ हजार ५ हुन आउन्छ ।

attariya hospital

जवकी अत्तरियाबाटै संचालित निजी एम्बुलेन्सहरुले पनि १ हजार देखि १ हजार २ सयमा मालाखेती देखि सेती अस्पताल सम्म सुत्केरीलाई पु-याउने गरेका छन । मालाखेतीको एम्बुलेन्सले निजी भन्दा महङ्गो शुःल्क लिइएको पाइएपछि सरोकारवाल निकायले भने अनविज्ञता प्रकट गरेका छन ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले आफूहरुले निर्देशिका अनुसार नै शुल्क लिइरहेको दावी गरे । ‘हामीले शुल्क लिने आधार नै निर्देशिका नै हो । अरु कुरा त मलाइ पनि थाहा भएन । मैले जानेको पनि निर्देशिका नै हो’ उनले भने ‘चालकले पनि मलाई सोधेको थियो । मैले निर्देशिका अनुसार लिनु भनेको थिए । तपाई पनि चालकलाई सोध्नुस कुन आधारमा शुल्क लियो भनेर ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रिले शुल्क लिइएको बिषयमा बुझ्न बाँकी रहेको बताए । उनले २०७५ मा बनेको निर्देशिका अनुसार नै अहिले एम्बुलेन्स संञ्चालनमा रहेको बताए । ‘मैले पनि सामाजिक संजालमा शुल्कको बिषयमा देखेको थिए । रियलमा के गरिरहेका छन भनेर बुझ्न बाकी छ’ उनले भने ‘यस बिषयमा मालाखेती अस्पताललाई बढी जानकारी होला ।’

मालाखेती अस्पतालका प्रशासन प्रमुख नवराज जोशीले भने पहिले देखि नै मालाखेती अस्पताल देखि ११ सय लिइदै आएको भएपनि गाउँबाट धनगढी लगिएकाले थप ५ सय जोडिएको हुन सक्ने बताए । प्रशासन प्रमुख जोशीले एम्बुलेन्सले पुगाएको मात्रै भएपनि अपडाउन शुल्क लिन पाउने भएकाले पनि बढी शुल्क लिइएको हुन सक्ने बताए ।

यद्दपी निर्देशिकामा भने अपडाउन लिने कतै लेखिएको छैन । एम्बुलेन्स शुल्क निर्देशिकामा गोदावरी नगरपालिकामा भित्र १० किलोमिटर सम्म ५ सय र १० किलोमिटर भन्दा माथी ७ सय लिने उल्लेख छ तर नगरबाट अन्य पालिकामा जान भने प्रतिकिलोमिटर ३० रुपैयाँका दरले शुक्क लिइने स्पष्ट उल्लेख छ ।

navjiwan hospital

एम्बुलेन्सका चालक रमेश कोलीले भने निर्देशिकामा भएको किलोमिटरको हिसावले कती आउने भन्ने थाहा नभएको तर, पहिल्यै देखि मालाखेती अस्पताल देखि ११ सय र बाहिरबाट १६ सय लिने गरेको बताए ।

रेफर गरे मात्रै निःशुल्क

मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनीले गर्भवती/सुत्केरीलाई मालाखेती अस्पतालबाट रेफर गरेमा मात्रै निःशुल्क हुने बताए । उनले नगरभित्र र मालाखेती अस्पतालले रेफर गरेको गर्भवतीलाई मात्रै निःशुल्क एम्बुलेन्स सुविधा दिइने बताए । उनले घरबाट सिधै घनगढी जाने गर्भवती महिलाबाट भने अस्पतालको एम्बुलेन्सले शुल्क लिने गरेको बताए । उनी शुल्कका बिषयमा भने बोल्न चाहेनन् ।

निजी भन्दा महङ्गो शुल्क

मालाखेती अस्पतालको एम्बुलेन्सले बढी शुल्क लिएको विषयमा चर्को विरोध भएपछि अत्तरिया खबरले निजी एम्बुलेन्सको शुल्क बुझ्ने प्रयास गरेको थियो । फोनमार्फत शुल्क बुझ्दा निजी एम्बुलेन्सले मालाखतीबाटै १२ सयमा सुत्केरीलाई धनगढी पु-याउन सकिने बताएका थिए । मालाखेतीबाट धनगढी जाँदा मालाखेती अस्पतालको एम्बुलेन्सलाई १६ सय शुल्क बुझाएका किरन भट्टले सस्तो होला भनेर मालाखेतीको एम्बुलेन्स बोलाएको भएपनि झन महङ्गो शुल्क तिर्न लगाएपछि अचम्ममा परेको बताए ।

मालाखेती अस्पतालको एम्बुलेन्स महङ्गो भएकै कारण धेरैले धनगढी अस्पताल जान अटोरिक्सा, ट्याक्सी प्रयोग गर्ने गरेका छन । अटोले अत्तरियाबाट ३/४ सयमै धनगढी पु-याउने गरेका छन भने ट्याक्सीले पनि १ हजार मै बिरामीलाई धनगढी पु-याउँदै आएका छन ।

गोदावरी नगरपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७५