खाेज्नुहाेस

बाजुरामा धान रोपाइँ सकियो

Image

बाजुरा – बाजुरामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्तासम्म धान रोपाइँ सकिएको हो । जिल्लाका नौ वटै स्थानीय तहमा गत जेठबाट सुरु गरेको धान रोपाइँ साउनको दोस्रो हप्ता सम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन । खोलाको किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइको सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा रोप्दा साउनको दोस्रो हस्ता सम्म रोपाइँ गर्नु परेको जगनाथ गाउँपालिका– ५ का चन्द्र सार्कीले बताए ।

attariya hospital
navjiwan hospital

उनले खोलाका किनारका जमिनमा असारमा रोपाइँ सकिए पनि कुलो र पँदालो नलाग्ने ठाउँमा भने साउनको दोस्रो साता सम्म सकिएको बताए । बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बूढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली लगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएर साउनको दोस्रो हप्ता सम्म धान रोप्ने काम सम्पन्न भएको कृषि ज्ञान बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

उनले ,बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन भएको बताए । बाजुरामा ६ हजार ९१५ हेक्टर जमिनमा धान खेती गरिन्छ । यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । भने १.९ मे टन / हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जैशीले बताए ।

बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।