धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि असार १ गते संसदमा पेश गरेको बजेटमाथी २ साता वितिसक्दा पनि छलफल हुन सकेको छैन ।
२९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट संसदमा प्रस्तुत गरिएपनि त्यसको सुरुदेखि नै विरोध हुँदै आएको छ । बजेट प्रस्तुत हुनु भन्दा अघि बाट सत्ता गठबन्धनबाटै सुरु भएको विरोध दुई साता सम्म पनि मत्थर हुन सकेको छैन ।


सत्ता गठबन्धनबाटै तीव्र विरोध भएपछि प्रदेशसभामा बजेट माथिको छलफल पनि अनिश्चित भएको हो । बजेट प्रस्तुत गरिएको दुई साता सम्म पनि बजेट माथिको छलफलका लागि बैठक बोलाउने बारे कुनै छलफल हुन सकेको छैन ।
‘बैठक अहिले स्थगित ’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भने, ‘अब कहिले बस्छ भन्ने कुनै जानकारी आएको छैन ।’ आर्थिक मामिला मन्त्री नरेश शाहीलाई सत्ता गठबन्धनका सांसदहरूले आफ्नो क्षेत्रका दर्जनौँ योजनाहरू बुझाएका थिए ।
कतिपय सांसदसँग मन्त्रीले योजनाहरू समेत माग गरेका थिए । तर, बजेट प्रस्तुत हुँदा सांसदले बुझाएका योजनाहरू नपरेपछि अहिले सत्ता गठबन्धन भित्रै बजेटले खैलाबैला गरेको छ ।

















