खाेज्नुहाेस

गिद्धको संरक्षण गरौं

Image

गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिईन्छ । गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् । फोहर तथा हानिकारक मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने काम गिद्धले गरेको हुन्छ । गिद्धमा हानिकारक तत्वलाई पनि पचाउन सक्ने क्षमता हुने भएकाले वातावरणलाई पनि स्वच्छ राख्ने काम गर्दछ ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पंक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ ।

attariya hospital

गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणी मात्रका लागि पूजनीय रहेको बताईन्छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख रहेको छ ।

navjiwan hospital

तर पछिल्लो समय प्राकृतिक एवम् धार्मिक रुपले महत्वपूर्ण मानिएको गिद्ध लोप हुदै गईरहेको छ । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग तथा आहाराको अभावका कारण गिद्धको अस्तित्व संकटमा परेको छ । पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि) को प्रयोगले गिद्धको विनाशमा ठूलो भूमिका खेलेको पशुविज्ञहरुले बताउने गरेका छन । डाइक्लोफेनक नामक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्धको मृत्यु हुन थालेपछि यसले गिद्ध संरक्षणमा पनि चुनौती थपिएको छ ।

सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला लगायतका जिल्लाहरुमा गिद्ध देखिने गरेका छन । तर कैलाली र बैतडीमा गिद्धको गुँड संरक्षणमै चुनौती रहेको पाइएको छ । कैलालीमा गिद्ध राम्रो संख्यामा देखिने गरे पनि गिद्धको गुँड भने घट्दो क्रममा रहेका छन । यो जिल्लाको बेली, पटेला, अत्तरिया र खुटिया नदी क्षेत्रमा गिद्धको बसोबास रहेको छ । यस क्षेत्रमा रहेका राष्ट्रिय र सामुदायिक वनहरुमा गिद्धले गुँडसमेत लगाउने गरेका छन् ।

यसैगरी, बैतडीमा आगलागीका कारण गुँड जलेर बच्चा मर्ने समस्या रहेको छ । प्रदेशको कञ्चनपुरमा मात्रै गिद्धको उपस्थिति र अवस्था राम्रो रहेको छ । त्यहाँ गिद्ध बढ्दै गएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडीको पर्सिया, वनसाह र कञ्ज क्षेत्रमा गिद्ध पाइन्छन् । यो प्रदेशमा डङ्गर, सानो खैरो, गोब्रे, खैरो, सुनगिद्ध, हिमाली र राजगिद्ध रहेका छन् ।

प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षण गर्नु अपरिहार्य भएको छ । प्रकृतिको स्वच्छता र मानिसको स्वास्थ्यका लागी गिद्धको संरक्षण गर्नु जरुरी रहेकाले सरोकारवाला निकायले पनि त्यसपछि ध्यान दिन जरुरी छ ।