कार्तिक २८ गते राती कैलालीको अत्तरियामा रहेको लहना मोबाईल ग्यालरीमा चोरी भयो । चोरले छानोबाट मोबाइल पसलमा छिरेर १२ लाख बढीका मोबाइल र नगद चोरेर लग्यो । इलाका प्रहरी कार्यालय मालाखेती देखि करिब २ सय मिटरको दुरीमा रहेको उक्त मोबाईल ग्यालरीमा भएको जस्तै चोरीको घटना त्यो भन्दा केही दिन अगाडी नमुना मोबाईल ग्यालरीमा पनि भएको थियो । नमुना मोबाईल ग्यालरीमा त एकै प्रकृतिबाट चोरले ४÷४ पटक चोरी गरीसक्यो । दोस्रो पटकको चोरीका समयमा चोर पक्राउ परेर अदालती मुद्धामा रहदा समेत नमुना मोबाईल ग्यालरीका सञ्चालकले चैन को सास फेर्न पाएनन । त्यसपछि पनि २ पटक उक्त मोबाईल ग्यालरीमा चोरी भैसक्यो ।
त्यसका साथै कार्तिक १२ गते राती अत्तरियामै रहेको विष्णु ईन्टरप्राईजेजमा पनि चोरी भयो । नमुना मोबाईल ग्यालरीमा चोरी गरेर पक्राउ परेकाहरुको समुहले विष्णु ईन्टरप्राईजेजमा चोरी गरेको प्रहरीले अनुमान गरेपनि ति चोरहरुलाई ल्याएर कारबाहीको प्रकृया अगाडी बढाउन प्रहरीले सकेन । जसको फलस्वरुप करिब १५÷१६ दिनभित्रै सोही प्रकृतिको चोरी लहना मोबाईल ग्यालरीमा भयो ।


पछिल्लो केही महिना यता बजारमा श्रृङ्खलावद्ध रुपमा चोरीका घटना हुँदा समेत प्रहरीले भने पछिल्लो पटक भएका चोरीका घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन् । आईतबार राती चोरी तथा लुटपाटकै कारण अत्तरियामा गोली चल्यो । झोलामा गरगहना लगेर गएका व्यापारीलाई गोलि हानेर लुटेराहरुले झोला लुटेर लगे । अत्तरियामा रहेको घोडाघोडी सुनचाँदी पसलका सञ्चालक विकास सुनारमाथी गोलि प्रहार भएको थियो । सोही पसलबाट घटनाको केही दिन अघि चोरले गहना चोरेर लगेको थियो । सञ्चालकका अनुसार पसलमा सिसिटभि क्यामेरा लगाएको भएपनि उक्त चोरले क्यामेराको रेकर्डर नै उठाएर लगेको थियो । चोरीका घटनाहरु दिनदिनै बढ्दै गईरहेपनि सुरक्षा निकाय संवेदनशिल नबन्दा गोलि काण्ड घटेको छ ।
अत्तरिया बजार क्षेत्र सानो हुनुका साथै नजिकै ईलाका प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरीको गण र नेपाली सेनाको व्यारेक हुँदा पनि यहाँका व्यापारीले सुरक्षित तरिकाले व्यापार गर्न नपाईरहेको व्यापारीहरुले गुनासो गर्न थालेका छन । सुरक्षा निकायका कार्यालयहरुका बीचमा पनि बजारमा एकैप्रकृतिका चोरीहरु दिनानुदिन भैरहेपनि प्रहरीले अपराधी समात्न नसक्दाको परिणाम गोलि काण्ड हो । दिनानुदिन बढीरहेका चोरीका घटनाबाट त्रसित व्यापारीहरु गोलि काण्डका कारण अझ बढी डराईरहेको अवस्था छ ।
व्यवसायीहरुले प्रहरी प्रशासनको लापरबाहीका कारण चोरहरु पक्राउ पर्न नसकेको गुनासो गर्दै आएका थिए । त्यसमाथी गोलि काण्डका कारण अझै प्रहरी माथकिो आमनागरिक र त्यसमा पनि व्यापारीको भरोशा टुटिसकेको छ । बजारमा सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षा निकाय बढी अग्रसर बन्न जरुरी छ । चोरी र लुटपाटका कारण नै गोलि काण्ड घटेको छ । त्यसैले प्रहरी प्रशासनले चोरी र लुटपाटका घटनामा संलग्नहरुलाई यथाशिघ्र पक्राउ गरि कारबाहीको दायरामा नल्याएसम्म व्यापारीले सुरक्षित महसुस गर्ने छैनन् ।
















