१६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस मनाइरहेकै बेला बैतडीमा माया लुहारको घाटी रेटेर हत्या गरिएको छ । घाटी रेटेको आरोप देशको सुरक्षाको लागि कसम खाएका सशस्त्र प्रहरी जवान माथि लागेको छ । छोरीको हत्यापछि आमा रमा लुहार अझै अर्धचेत अवस्थामा छिन् । सोही घटनामा रमाकी नातिनीको पनि घाटी रेटिएको थियो । आङै जिरिङ्ग हुने उक्त घटनाले अहिले बैतडीको पञ्चेश्वर शोकमा मात्रै होइन त्रासमा पनि छ । छोरीहरु झन असुरक्षित महशुस गरिरहेका छन् ।
कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट मारिएको घटनाले छोरीहरुको सुरक्षामा प्रश्न उठिरहेको बेला भएको यो दर्दनाक घटनाले झन असुरक्षित महसुस गराएको छ । छोराको चाहनामा गर्भमै असुरक्षित हुँदै आएका छोरीहरु समाजमा हुर्कन नपाउँदै मारिएका एक पछि अर्को घटना सार्वजनिक हुन थालेपछि यसले झन चिन्ता थपेको छ ।


सामाजमा धेरै परिवर्तन भएपनि छोरीहरुले अहिले पनि बिभिन्न बन्धनमा बाधिएर हिड्नु पर्ने अवस्था कायमै छ । छोरा–छोरी समान भनेपनि अहिले पनि समाजमा छोरीलाई सानैदेखि घरको जिम्मेवारी बोकाइन्छ । खुलेर हिड्न दिइँदैन् । बिभिन्न सीमामा बाधिएर बस्नुपर्ने बाध्यता छ । यो बन्धनबाट मुक्ति खोजिरहेका छोरीहरुले बाहिर जाँदा पनि असुरक्षाको महशुस गर्नुपर्दा अझै खुला आकाशको अनुभूति गर्न पाएका छैनन् ।
सुरक्षाका लागि खटिने प्रहरीबाटै बैतडीमा भएको हत्याको पछिल्लो घटनाले महिलाको सुरक्षाका लागि सोचमा परिवर्तन आउनुपर्ने देखाएको छ । जतिसुकै जधन्य अपराध गरे पनि मुत्युदण्डको सजाय दिन नमिल्ने देशमा सनक र शंकाकै भरमा ज्यानै लिने सोच एक राष्ट्र सेवक कर्मचारीमा हुनले सामाजको चरित्र उदाङ्गो पारेको छ । बल छ भने जे गरे पनि हुन्छ भन्ने जंगली सोचको अझै अन्त्य नभएको यस घटनाले देखाएको छ ।
यसैले यस्ता घटना न्यूनिकरणका लागि यस्तो सोचमै परिवर्तन ल्याउन आवश्यक छ । जसले मानवमा मानवियताको भावना जागृत गरोस् । अर्कोतर्फ यस्ता घटना घटिहाले त्यसका दोषिलाई कडा कारवाही गरेर यस्ता घटनाका दोषिलाई निरुत्साहित गर्न आवश्यक छ । नत्र यस्ता व्यक्तिले समाजमा प्रोत्साहन पाउने र, छोरीहरु झन–झन असुरक्षित हुदै जानेछन् ।
















