मालाखेती अस्पताल प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका मातहत रहेको छ । उक्त अस्पताल सामुदायिक रुपमा रहेको नगरपालिकाको मुख्य अस्पताल हो । कैलाली र कञ्चनपुरको सीमा नजिक पनि भएकाले यहाँ कैलालीका मात्रै नभई कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पनि विरामीहरु सेवा लिन आउने गरेका छन ।
गोदावरी नगरपालिकाका केही वडाहरु विकट क्षेत्रमा रहेका छन । विकट क्षेत्रका आर्थिक अवस्था न्युन भएका परिवारहरुले मालाखेती अस्पतालमै गएर स्वास्थ्य सेवा लिने गरेका छन । तर, अस्पतालमा व्यवस्थापन क्षेत्र फितलो बन्दा र आवश्यक स्वास्थ्यकर्मीहरुको समेत अभाव हुँदा सेवाग्राहीहरुले मालाखेती पुगेर सेवा नपाउँदा बाहिर जानुपर्ने अवस्था थियो । अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरुकै अभाव थियो ।

नगरपालिकामा नयाँ जनप्रतिनिधिहरु आएपछि यसको सेवामा केही सुधार त भएको छ तर त्यो पर्याप्त बन्न सकेको छैन । अस्पतालमा नवौं तहको डाक्टरको दरबन्दी अस्पतालको स्थापना समयदेखि नै हो, तर पहिलो चोटी यही भदौ ६ गतेदेखि अस्पतालले नवौ तहको एमडिजिपि डाक्टर पाएको छ । हालसम्म रिक्त रहेको उक्त पदमा पहिलो पटक नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पठाएको हो । डाक्टर आउने वित्तिकै अस्पतालको सेवामा पनि केही मात्रामा सुधार भने आएको छ ।

अस्पतालमा भएको ओपिडि कक्षहरु समेत व्यवस्थापकीय कमजोरीका कारण बाँदरले बस्ने घर बनेका थिए । ति ओपीडी कक्षहरु व्यवस्थीत बनेका छन, बिरामीहरुलाई बस्न योग्य बनाईएका छन । अस्पतालमा ओटी सेवा पनि सुरु गर्ने तयारी गरिएको छ । त्यसका लागी संरचना निर्माणको काम भैरहेको छ ।
नगरपालिका मातहत भएकाले त्यसको अध्यक्षको जिम्मेवारीमा नगरप्रमुख नै रहने गरी बनाईएको ऐन संसोधन गरी नगरपालिकाले नयाँ अध्यक्ष चयन गरेको छ । मालाखेती अस्पतालको अध्यक्षमा पद्मा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर नर बहादुर मौनी मनोनित भएका छन । उक्त विषयलाई लिएर सामाजिक संजालमा बहसहरु पनि सुरु भएका छन ।
उक्त कुराको विरोध र समर्थन गर्नेहरुको सामाजिक संजालमा दोहोरी नै चलेको छ । प्राईभेट अस्पतालको सञ्चालकलाई अध्यक्ष तोकिनु उपयुक्त नहुने भन्दै केहीले आलोचना गरेका छन भने केहीले अस्पतालको व्यवस्थापनका लागी स्वास्थ्यक्षेत्रसँग सम्बन्धीत व्यक्ति भए सहज हुने भन्दै समर्थन गरेका छन । अझ समर्थन गर्नेहरुले त अध्यक्ष तोकिएका व्यक्तिको सामाजिक कार्यहरुको बारेमा जानकारी राख्न समेत भनेका छन ।
समग्रमा नगरपालिकाको निर्णय सहि या गलत भन्ने कुरा अलग पाटो छ । जिम्मेवारी दिईएका व्यक्तिले आफ्नो जिम्मेवारी कसरी निभाउँछन भन्ने कुरालाई हामीले मनन् गर्न जरुरी छ । प्राईभेट अस्पतालको सञ्चालक भएर सामुदायिक अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सक्छन भने त्यसलाई नकारात्मक रुपमा हेरिनु हुदैन् ।
तर, यदी सामुदायीक अस्पतालमा प्राईभेट अस्पताल घुसाएर राजनिति गर्न खोजिन्छ भने त्यस्तो व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने काम प्रशासनले गर्नुपर्दछ । अध्यक्ष तोकेकै भरमा विरोध गर्नुभन्दा पनि कामको मुल्यांकन गर्ने गरौ । जिम्मेवार व्यक्तिले गैरजिम्मेवार काम गर्दा त्यसलाई सजाय दिने अधिकार स्थानियमा पनि छ । त्यसैले नगरीकनै मालाखेती अस्पतालको सेवामा सुधार आउनेछ भन्ने आशा गरौ ।
















