खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर गएको भूकम्पले ठूलो धनजनको क्षति भएको छ । बुधबार राती २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । सो भूकम्पले घर भत्किदा डोटीमा ६ जनाले ज्यान गुमाएका छन भने ७ जना घाइते भएका छन । त्यस्तै दर्जनौ घरमा पनि क्षति पुगेको छ ।
बिहिबार बिहान बाजुराको खप्तड छेडेदह गाउँपालिका अन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको थियो । बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेको थियो । उक्त भूकम्पले पनि बाजुरा आसपासका क्षेत्रमा धेरै घरमा क्षति पु-याएको छ ।


भूकम्पका कारण घर भत्किएका, घर चर्किएकाहरु अहिले बिचल्लीमा परेका छन । उनीहरु अहिले पालमूनि रात काटिरहेका छन । भूकम्पपछि पराकम्पन जाने क्रम नरोकिएकाले घर चर्किएकाहरु घर भित्र बस्न सक्ने अवस्था छैन । अझै ठूलो भूकम्प जान सक्ने त्रासमा उनीहरु छन ।
अहिले भूकम्प पीडितलाई केही राजनीतिक दलका नेता, सामाजसेवी र संघसस्थाले सहयोग गरेका भएपनि सरकार भने उदासिन रहेको छ । तिन तहका सरकार भएपनि अहिले सम्म भूकम्प पीडित र क्षतिको विवरण बारे तथ्याङ्क संकलन समेत हुन सकेको छैन् । यस्तै विपत्तीको समयमा जनतालाई सरकारको आवश्यकता पर्छ । तर, भूकम्प पीडितले भने अहिले राज्य भएको महसुस गर्न पाएका छैनन् । एकातिर आफन्त र भौतिक संरचना गुमाएको पीडा अर्कोतिर निकै कष्टकर जीवन विताउन बाध्य छन् ।
सम्पुर्ण ध्यान निर्वाचनमा लगाएर सरकार संचालकहरुले अहिले आफ्नो उत्तरदायित्व विर्सिएका छन । उनीहरुलाई चुनावको वेला पीडितको पीडा सुन्ने फुर्सद नै छैन् । राज्य जनताको अभिभावक हो । त्यसैले जनता समस्यामा परेका बेला राज्यलाई गुहार्ने हुन । तर, राज्य संचालकहरुले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसक्दा अहिले भूकम्प पीडितको पीडा माथि पीडा थपिएको छ ।
संकटको समयसमा राज्य यसरी गैरजिम्मेवार बनेको पटकै सुहाउन्न । आफै आफ्नो उत्तरदायीत्व वहन गरेर भूकम्प पीडितको घाउमा मलम लगाउनु पर्ने समयमा जनता चिच्याउँदा कराउँदा पनि नसुन्नु निकै निन्दनिय छ । त्यसैले तिनै तहका सरकारले आफ्नो जिम्मेवारी भूमिका र विपतका समयमा गर्नुपर्ने कामलाई मनन् गरी तत्काल जनताको घाउमा मलम लगाउनु पर्छ । भूकम्पबाट घरबार बिहिन भएकाहरुको तत्काल तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गरिनु पर्छ । अन्यथा जनता राज्य के का लागि भनेर प्रश्न गर्ने छन ।















