खाेज्नुहाेस

काम साना, चुनावी एजेण्डा ठूला

Image

अहिले देशभर प्रतिनिधि सभा र प्रदेश सभा चुनावको माहोल छाएको छ । विभिन्न पार्टीहरुले आ–आफ्ना उम्मेदवारहरुको टुंगो लगाएर चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको अवस्था छ । अहिले सुदूरपश्चिममै कैलालीको क्षेत्र नं. ४ सबैभन्दा बढी चासोको रुपमा हेरिएको क्षेत्र छ । यहाँ दुई पुर्वमन्त्रीहरु तथा पार्टीका दुई प्रदेश नेतृत्व हाकेका नेताहरुको टक्करले पनि क्षेत्र नं. ४ प्रति सबैको चासो बढेको हो ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर र नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका एमाले सचिव लेखराज भट्टबिचको चुनावी प्रतिष्पर्धाका कारण अहिले कैलालीको क्षेत्र नं. ४ सबै भन्दा बढी चर्चामा आएको छ । बलायर गठबन्धनका कारण कैलालीमा आएका हुन भने भट्ट पटक पटक यही क्षेत्रबाट चुनाव लड्दै आएका छन । भट्टले नेकपा एमालेका तर्फबाट चुनाव लड्न थालेको भने यो पहिलो पटक हो । यसअघि उनि एमाले र माओवादीको गठबन्धन र माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए ।

attariya hospital
navjiwan hospital

चासोका साथ हेरिएको क्षेत्र नं. ४ मा हेविवेट नेताहरुका जस्तै उनीहरुका एजेण्डा पनि हेविवेट नै छन । एजेण्डालाई आधार बनाउने हो भने यो क्षेत्रमा चुनाव लडेका उम्मेदवारहरुले चुनाव जितेर गए सुदूरपश्चिमकै कायापलट गर्न सक्छन । तर समग्रमा त्यो सत्य भने होईन र सत्य मान्न पनि सकिदैन । किनकी पटक पटक यस क्षेत्रबाट सोही एजेण्डाहरुलाई आत्मसाथ गर्दै निर्वाचन जितेर मन्त्री समेत भैसकेकाहरुले क्षेत्र नं. ४ मा अहिलेसम्म देखाउन लायक काम गर्न सकेका छैनन् । चुनावी एजेण्डाहरु ठूला ठूला बनाउने नेताहरुले ग्राईभेल हाल्ने, तालीम दिने, खेलकुद प्रतियोगीता गर्ने, अनुमगन गर्ने लगायतका कुराहरु मात्रै गरेका छन । चुनावमा भोट हात पार्नका लागी बनाईएका एजेण्डाहरु चुनाव जितेर गईसकेपछि भने बाकसको कुनामा थन्क्याएर राखिन्छ । ति बाकसमा थन्क्याईएका एजेण्डाहरु अर्काे निर्वाचनका समयमा भोट माग्नलाई मात्रै प्रयोग गरिन्छ ।

अहिले सरसर्ति हेर्दा प्रतिनिधि सभाका उम्मेदवारहरुले गेटा मेडिकल कलेज, दोधारा चाँदनी सुख्खा बन्दरगाह, हरैया विशेष व्यापार क्षेत्र, प्रदेश राजधानी गोदावरी, अत्तरिया आधुनिक बसपार्कका योजनाहरुका साथै क्षेत्र नं. ४ सँग जोडिएका विभिन्न फस्ट ट्रयाक तथा सडकहरुको स्तरोन्नती र निर्माणको कार्यलाई चुनावी एजेण्डा बनाएका छन । झट्ट हेर्दा चुनावी एजेण्डा संसारकै सबैभन्दा नमुना बनेको जस्तो आभार भएपनि यसले नागरिकको मनमा स्थान भने बनाउन सक्दैनन ।

किनकी, विगतदेखी नै यस्तै एजेण्डाहरुको पृष्ठपोषणले चुनावमा विजयी बनेका र मन्त्री समेत बनिसकेका बेला विकास निर्माणका कार्यहरु अथवा भनौ, एजेण्डामा उल्लेख गरिएका योजनाहरुको निमार्णमा ध्यान दिएको देखिएको थिएन, त्यसैले चुनावी एजेण्डाहरुले नागरिकको भोट आफुतिर तान्ने आशा छोडि, निर्वाचनमा मत दिने मतदाताहरुको मतको कदर गर्ने व्यक्तिलाई यसपटकको भोट खसाल्न जरुरी छ ।