अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनका साझा उम्मेदवारलाई भोट माग्न सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आफ्ना पार्टीका वडागत उम्मेदवारहरुलाई आग्रह गरेका छन ।
शनिबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै गोदावरीको नगरप्रमुख र उपप्रमुखमा गठबन्धनका साझा उम्मेदवारलाई भोट माग्न आग्रह गरेका हुन ।


कांग्रेसका गोदावरी नगरसभापति विर बहादुर चोखाल, माओवादीका नगर अध्यक्ष धर्म कुँवर र नेकपा एकिकृत समाजवादीका नगर सचिव लक्ष्मण बोगटीद्धारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रिय राजनिति र स्थानिय आवश्यकताका साथै समयको मागका कारण गोदावरीमा गठबन्धनको उम्मेदवारका साथ चुनावी मैदानमा उत्रिएको बताईएको छ । यसका साथै विज्ञप्तीमा वडास्तरमा गठबन्धन घटक दलहरु बिच मित्रवत प्रतिष्पर्धा गरिरहेको समेत बताईएको छ ।
‘गोदावरीको प्रमुखमा कांग्रेसका विरेन्द्र भट्ट र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीबाट रत्ना कडायतलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेका छौ भने वडास्तरमा गठबन्धन घटक दलहरु बिच मित्रवत प्रतिष्पर्धा गरिरहेका छौ’ विज्ञप्तीमा भनिएको छ ‘गठबन्धनमा आवद्ध सबै राजनितिक दलका स्थानिय वडा तहको नेतृत्व वडाध्यक्ष तथा सदस्यपदका उम्मेदवारहरु वडा तहमा आ–आफ्नो दलका उम्मेदवारहरुको पक्षमा मत माग्ने र गठबन्धनका नगरप्रमुखको निर्वाचन चिन्ह रुख र उपप्रमुखको निर्वाचन चिन्ह कलममा मतदान गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गर्दछौ ।’
साथै स्थानिय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई अत्याधिक बहुमतका साथ विजयी गराउन सबै पार्टीका संगठन तथा भातृसंगठनलाई समेत अनुरोध गरिएको छ ।



















