बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा पाँचौँ संस्करणको मेयर कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा बुधबारबाट प्रतियोगीता सुरु भएको हो ।
चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका–४ खलंगा विजयी भएको छ । खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो ।

निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो । उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३० रनको योगदान गरे । खलंगाका गोविन्द नाथ र विरेन्द्र चन्दले २÷२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको खलंगाले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७२ रन जोडेको थियो । उसका लागि प्रदीप चन्दले अर्धशतकीय पारी खेल्दै ६३ रनको योगदान गरे । राजु भाटले ३५ रन बनाए ।
ग्वाल्लेकका लागि दीपक जोशी र पिताम्बर जोशीले ३/३ विकेट झारे। खेलका म्यान अफ द म्याच प्रदीप चन्द भएको स्कोरर द्रोपती कुँवर (बोहरा) ले जानकारी दिइन । प्रतियोगितामा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।
नगरपालिकाको हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।



















