अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ ।
नगरभित्र रहेका २० जना कृषकहरुलाई एक कार्यक्रमका बिच नगरपालिकाको कृषि शाखाले प्रतिकृषक १० हजार बराबरका कृषि सामग्री वितरण गरेको हो ।
नगरमा रहेका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउनका लागी व्यवसायीक रुपमा कृषि कार्य गर्न कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । उनले आर्थिक वर्ष २०७८/०७९ मा प्रत्येक वडामा तरकारी बाली प्रर्दशन कार्यक्रम राखिएको र सोही अनुसार आफुहरुले किसानलाई दुई कट्टा बराबरलाई पुग्ने विउवितरण तथा अन्य सामग्रीहरु वितरण गरिएको बताए ।


वडाले छनौट गरेका २० जना कृषकहरुले नगरपालिकाले वितरण गरेका सामग्रीको सही सदुपयोग गरी नमुनाको रुपमा वडामा चिनिन पनि उनले आग्रह गरे । ‘वडाले तपाईहरुलाई छनौट गरेको छ, तपाईहरुले वडामा नमुना कृषक बनेर देखाउनुप-यो’ उनले भने ‘तपाईहरुबाट अरु किसानहरु सिकुन भन्ने हाम्रो लक्ष्य छ ।’ उनले आफ्नो कृषि कार्यको प्रर्दशनले वडाका अन्य किसानहरुको पनि कृषिप्रति मनोबल उच्च पार्ने काम गर्न कृषकहरुलाई आग्रह गरे ।
यसैगरी कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष जयनारायण जोशीले स्थानिय तह आएसँगै कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रमा फड्को मारेको बताए । उनले कृषि क्षेत्रमा नगरपालिकाले प्रत्येक वर्ष करिब १ करोड रुपैया विनियोजन गर्दै आएको बताए । उनले उक्त विनियोजीत रकम किसानले पाएका छन की छैनन भन्ने कुराको लेखाजोखा भएपनि उनिहरुको प्रगतीको बारेमा भने विवरण राख्न नसकेको बताए ।
‘हामीले कृषिमा कृष्णपुरलाई नमुनाका रुपमा अगाडी बढाउन विभिन्न किसीमका योजनाहरु ल्याएका छौ’ उनले भने ‘एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत विभिन्न वडामा छुट्टाछुट्टै कृषि योजनाहरु ल्याएपनि हामी जुन लक्ष्यका साथ जान खोजेका थियौ त्यो लक्ष्यमा पुग्न सकेका छैनौ ।’ उनले किसानलाई विभाजीत गरी उनको स्थितिको आधारमा प्रत्येक वडालाई अगाडी लैजानुपर्ने बताए ।
नगरपालिकाले २० जना किसानहरुलाई प्रतिकिसान रु. १० हजार बराबरको तरकारीका बिउविजन, हजारी, स्प्रे, मल लगायतका कृषि सामग्री वितरण गरेको हो । नगरपालिकाले आगामी दिनहरुमा पनि कृषि कार्यको लागी विभिन्न योजनाहरु ल्याएको नगरपालिकाको कृषि विकाश शाखाले जनाएको छ ।















