खाेज्नुहाेस

छैन दसैँमा हुनुपर्ने जस्तो व्यापार

Image

अत्तरिया – किनमेल दसैँ सँग जोडिएको पर्यायवाची शब्द नै हो । दसैँमा मिठो खाने, नयाँ लुगा लगाउने चलन परम्परा जस्तै बनिसकेको छ । जसका कारण दसैँको समयमा व्यापार व्यवसाय पनि बढ्छ भन्ने आम मान्यता रहँदै आएको छ । तर, यस पटक भने सामान्य समय भन्दा व्यापार बढे पनि दसैँमा हुनुपर्ने जस्तो व्यापार नभएको भन्दै अत्तरिया बजारका व्यवसायीहरू निराश छन् ।

उपभोग गर्ने युवा बिदेसिनु, अनलाइनमा किनमेल बढ्दा ग्राहक पसल सम्म कम आउन थालेको धेरै व्यवसायीको दुखेसो छ । अत्तरियामा व्यवसाय गर्दै आएकी दुर्गा देवी कडायतले यस पटकको दसैँमा व्यापार शून्य नै भएको बताइन् । उनले कोरोना पछि व्यापार घट्दै गएकोमा यस पटक शून्य नै भएको बताइन । ‘व्यापार बर्सेनि घट्दै गइरहेको छ । यस पटक त शून्य नै छ’ महेन्द्रनगर रोडमा सुनादेवी फेन्सी स्टोर सञ्चालन गर्दै आएकी उनले भनिन् ‘यता व्यापार नभएर पछि बसपार्कमा सेल लगाउन भएकी थिए । त्यहाँ पनि बहनी नभएर घर आए ।’

attariya hospital
navjiwan hospital

उनले विगतमा सप्तमी, अष्टमी, नवमीका दिन दैनिक ५० हजार देखि १ लाख सम्मको व्यापार हुने गरेकोमा यस पटक दैनिक १० हजार पनि नपुगेको बताइन । उनले देशकै हालत नाजुक भएकाले आफूहरूको हालत पनि यस्तो भएको हुन सक्ने बताइन ।

‘पैसा कमाउने युवाहरू जम्मै विदेश तिर छन्, यहाँ बुढाहरू मात्रै छन् । उनीहरूले के किन्छन्’ उनले भनिन ‘फेरी यो अनलाइनले गर्दा पनि हाम्रो व्यापार कम भएको छ ।’ उनले अनलाइनवालाले घरमै समान पुगाउने भएकाले पसल आउने क्रम कम भएको बताइन ।

अत्तरियाका अर्का व्यवसायी उमेश तिमिल्सेनाले दसैँको बेलामा पनि व्यापार नभएर मोबाइल चलाएर बस्नुपरेको बताए । ‘यो समयमा पानी पिउने पनि फुर्सद हुँदैनथ्यो’ उनले भने ‘अहिले एकदम फुर्सदमा छौ । मोबाइल चलाएर बसिरहेका छौ ।’ उनले अहिलेको अवस्था हेर्दा अझै पनि अवस्था सुधार हुँदैन कि भन्ने लागेको बताए ।

उनले व्यापार घट्नुको कारण युवाहरू बिदेसिनु हुन सक्ने बताए । ‘युवाहरू विदेश तिर जानाले घटेको जस्तो लाग्छ । अरू त के कारण होला र ?’ एसएस फेसन वेयरका सञ्चालक रहेका उनले भने ‘अनलाइनले गर्दा पनि व्यापारमा कमी आएको हुन सक्ने बताए । अधिकांश व्यवसायीहरूले कोरोना महामारी पछि घट्दै गएको व्यापारमा पछिल्लो समय बर्सेनि घटै गएको बताएका छन् । जसले गर्दा दसैँलाई लक्षित गरेर पसलमा सामान थपेका व्यापारीहरू अहिले निराश बनेका छन् ।