कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।

सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले जाँच गर्ने क्रममा ०.१६ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
बरामद लागुऔषधसहित मिजारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




















