खाेज्नुहाेस

अत्तरिया चोक मर्मतमा लापर्वाही

Image

अत्तरिया – लामो समयको रस्साकस्सी पछि अत्तरिया चोकमा कालोपत्रे गरिएको भएपछि अझै सम्झौता अनुसारको काम भने हुन सकेको छैन । असोज दोस्रो साता चोकमा कालोपत्रे (बिडिएम) को काम गरिएको भएपनि लामो समय बितिसक्दा पनि चोकमा बाँकी काम हुन सकेको छैन ।

चोकमा चारैचिर राउण्डमा कालोपत्रे गर्ने भनिएपनि पहिलो लेयर अन्तरगत गरिएको बिडिएमको काम पनि अधुरो छोडिएको छ । जसले गर्दा सडक नागबेली जस्तो बनेको छ । त्यस्तै चोकको बिच भागमा सडक लेन छुट्याउने डिभाइडर पनि अलपत्र छोडिएका छन ।

attariya hospital

सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख नरेन्द्रप्रसाद भट्टले चोकमा एक लेयर कालोपत्रे हाल्न बाँकी रहेको बताए । उनले चोकको बिचमा बनाइएका त्रिकोणात्मक डिभाइडर मर्मत पनि अहिलेको ठेकेदारले गर्ने बताए ।

‘डिभाइडरमा कर्न स्टोन राखेर माटो भर्नुपर्ने छ’ उनले भने ‘कालोपत्रेको एक लेयरको काम पनि बाँकी छ ।’

उनले ठेकेदारले बाँकी काम सम्पन्न गर्नका लागि तयारी गरिरहेको आफूले जानकारी पाएको बताए । ‘अहिले चोक धुलाम्मे हुने मुख्य समस्या सामाधान भएको छ’ उनले भने ‘बाँकी काम छिटै हुन्छ ।’

navjiwan hospital

चोक मर्मतका क्रममा सडकको उचाई बढाइएकाले यसअघि सडक भन्दा उचो बनाइएका डिभाइडर अहिले खाल्डोमा परिणत भएका छन । जसले गर्दा चोकमा दुर्घटनाको जोखिम समेत बढेको छ ।

अहिले ५ सेन्टिमिटरको बिडिएम गरिएको भएपनि सडकको सतह पनि समथल मिलेको छैन । प्राबिधिकका अनुसार बिडिएम माथी थप ५ सेन्टिमिटरको असफाल्ट हालिएपछि मात्रै सडक चिल्लो हुने गर्दछ । चोक मर्मत पछि मोहना अत्तरिया ६ लेन सडककै स्तरको हुने बताइएको छ ।

चोक मर्मतको ठेक्का पाएको भुवन निर्माण सेवा धनगढीका सञ्चालक भुवनेश्वर पन्तले दोस्रो लेयरको कालोपत्रे (असफाल्ट) को काम छिटै सुरु गरिने बताए । उनले कारणबस काममा ढिलाइ भएको बताए । ‘म छिटै काम सुरु गर्छु’ उनले भने ‘थुप्रै समस्या छन । त्यही कारणले ढिला भएको हो ।’ उनले जे समस्या भएपनि आफूले मिलाउने बताए । ‘चाडै हुन्छ त्यही लेखिदिनु न । म छिटै काम गर्छु । जे भएनी आफूले मिलाउने हो । कारण भनेर फाइदा छैन ।’

चोक मर्मतका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत भुवन निर्माण सेवा प्राली धनगढीले ९० लाखमा ठेक्का पाएको थियो । सडक डिभिजन कार्यालयले चोक मर्मतका लागि १ करोड ६६ लाखको बोलपत्र आह्वान गरेको भएपनि भुवन निर्माण सेवाले ४० प्रतिशत बिलोमा असार मसान्तभित्रै चोकको कालोपत्रेको काम सम्पन्न गर्ने भन्दै २०७८ जेठ १९ गते सम्झौता गरेको थियो ।

गत आर्थिक बर्ष भित्रमै निर्माणको काम सक्ने गरि ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारीका कारण काममा ढिलाई भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सम्बन्धित खबर : अत्तरिया चोक कालोपत्रे गर्ने काम सुरु (फोटोफिचर)