बैतडी – बैतडीमा नेपाली कांग्रेसको सम्पन्न पालिका तहको अधिवेशनबाट एक जना पनि महिला र दलित नेतृत्वमा आउन सकेका छैनन् । १० वटा पालिका रहेको बैतडीमा सबै ठाउँमा ब्राह्मण, खस, आर्य मात्रैले नेतृत्व गरेका छन् ।
सबैमा पुरुषले नेतृत्व गरेको र त्यसमा पनि ब्राह्मण, खस, आर्यमात्रैले नेतृत्व गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।

यहाँका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने ७ वटामा निर्वाचन भएको हो । दशरथचन्द नगरपालिका नगरसभापतिमामा भुवनराज भट्ट, पुचौडी नगरपालिकाका नगरसभापतिमा गणेशबहादुर गडाल, पाटन नगरपालिकाका नगरसभापतिमा मानबहादुर ऐर, मेलौली नगरपालिका नगरसभापतिमा परमानन्द भट्ट, सिगास गाउँपालिका सभापतिमा कर्णबहादुर ऐर, दोगडाकेदार गाउँपालिका सभापतिमा नन्दराज भट्ट, डिलाशैनी गाउँपालिका सभापतिमा जयानन्द जोशी, सुर्नया गाउँपालिका सभापतिमा प्रताप सिंह महरा, पञ्चेश्वर गाउँपालिका सभापतिमा रामबहादुर चन्द र शिवनाथ गाउँपालिका सभापतिमा हीरा चन्द नेतृत्वमा आएका छन ।

नेतृत्वमा महिला आउनु अहिलेको आवश्यकता रहे पनि महिला नेतृ भागरथी भट्टले बताइन् । उनले भनिन्, ‘महिलाले नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने गलत सोचले नेतृत्वमा आउन सकेका छैनन् । अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशीलहरू सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन् ।’
सबै क्रियाशील दलित सदस्यहरूले नेतृत्व हाँक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएको नेपाल दलित संघ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताए ।
उनले भने, ‘केही जान्नेसुन्ने क्रियाशील दलित साथीहरू स्थानीयस्तरमा बस्न नचाहेकाले पनि यस्तो देखिएको हो । यसका लागि विधानमै व्यवस्था हुनुपर्छ ।’ कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउने सम्भावना छ ।



















