कञ्चनपुर – कञ्चनपुरमा धान बिक्रीका लागि किसानलाई टोकन वितरण गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु नगर्दा किसान अन्योलमा परेका छन्।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्ने आशामा टोकन लिएका किसानसमेत आफ्नो उत्पादन बिक्री गर्न नपाउँदा समस्यामा परेका हुन्। कम्पनीले चालु आर्थिक वर्षका लागि कञ्चनपुरमा ८ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको छ। तर जिल्लाका किसानले करिब २८ हजार क्विन्टल धान खरिद गरिदिन माग गरेका छन्।

कोटा अपुग भएपछि किसानको माग सम्बोधन गर्न थप २० हजार क्विन्टल धान खरिदको कोटा माग गर्ने निर्णय गरिएको छ। तर थप कोटा स्वीकृत नहुँदा खरिद प्रक्रिया अघि बढ्न सकेको छैन।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरेको छ। जबकि निजी व्यापारीले अहिले प्रतिक्विन्टल करिब २ हजार ७ सय रुपैयाँमा धान खरिद गरिरहेका छन्। सरकारी मूल्य र बजार मूल्यबीच ठूलो अन्तर भएकाले किसान खाद्यमा धान बिक्री गर्न चाहन्छन्।
खाद्यको महेन्द्रनगरस्थित कार्यालयले जिल्लामा एउटै मात्र खरिद केन्द्र सञ्चालन गरेको छ। यसले जिल्लाको दक्षिणी क्षेत्रका किसानलाई धान महेन्द्रनगरसम्म ढुवानी गर्न थप खर्चिलो बनाएको छ।
गत वर्ष पनि खरिद कोटा कम हुँदा किसानले सरकारी मूल्यमा धान बिक्री गर्न पाएका थिएनन्। यस वर्ष पनि कोटा नबढे किसानले उत्पादन गरेको धान सस्तो मूल्यमा निजी व्यापारीलाई बिक्री गर्नुपर्ने अवस्था देखिएको छ।
किसानले समयमै धान खरिद सुरु गर्न र खरिद कोटा बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।



















