अछाम – अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर सञ्चालनमा ल्याएको अस्पताल बन्द भएपछि स्थानीयवासी सामान्य उपचारका लागि समेत बयालपाटा अस्पताल धाउन बाध्य भएका छन् ।

करिब ६ वर्षअघि चिकित्सकसहितको टोली र अत्याधुनिक उपकरणबाट सेवा सुरु गरिएको अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, प्रयोगशाला तथा आकस्मिक बिरामी भर्नालगायतका सेवा उपलब्ध थिए । तर, २०८२ कात्तिकमा करारका कर्मचारी हटाइएपछि अस्पतालको सेवा पूर्ण रूपमा बन्द भएको हो ।

मेल्लेख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र ठकुल्लाका अनुसार करार कर्मचारी हटाउने सरकारी नीति र स्वास्थ्य ऐनको कानुनी व्यवस्थापछि अस्पतालमा कार्यरत चिकित्सक, नर्स, रेडियोग्राफर तथा प्रयोगशाला प्राविधिकलाई बिदाइ गरिएको थियो । त्यसपछि एक जना अहेबको भरमा अस्पताल सञ्चालन गर्ने प्रयास गरिए पनि आवश्यक जनशक्ति र प्राविधिक अभावमा सेवा निरन्तरता दिन नसकिएको उनले बताए ।
अस्पताल बन्द हुँदा विशेषगरी वृद्धवृद्धा तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने समस्या भएको छ । अस्पतालमा रहेका लाखौँ रुपैयाँका उपकरणसमेत प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।




















