खाेज्नुहाेस

अत्तरियाक्षेत्रका मासु पसलको अनुगमन, करिब एक क्विन्टल अखाद्य मासु बरामद

Image

अत्तरिया– कैलालीको अत्तरिया बजारक्षेत्रमा रहेका मासु पसलहरुको अनुगमन गरिएको छ । मंगलबार गोदावरी नगरपालिकाले बजार क्षेत्रमा रहेका मासु पसलहरुको अनुगमन गरेको हो ।

बजारक्षेत्रका करिब २० वटा मासु पसलहरुको अनुगमनका क्रममा अखाद्य मासु बरामद गरिएको थियो । करिब १ क्विन्टल बढी अखाद्य मासु बरामद गरिएको र सो मासु नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

attariya hospital

गोदावरी नगरपालिकाले नगर उपप्रमुख शारदा देवी रोकायाको नेतृत्वमा गरिएको अनुगमनमा वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्ट सहित पशु सेवा शाखाका कर्मचारी, पशु चिकित्सक डा. निलम कुमारी महतो, नगर प्रहरी, मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी लगायतको सहभागिता रहेको थियो ।

navjiwan hospital

अनुगमनका क्रममा केही मासु पसलमा अव्यवस्थित रूपमा मासु भण्डारण गरिएको, एउटै फ्रिजमा विभिन्न प्रकारका काँचो मासु खुला अवस्थामा राखिएको र सरसफाइमा समेत लापरबाही गरिएको पाइएको छ । मासुको गुणस्तर, स्वच्छता तथा बिक्री वितरणको अवस्थाबारे निरीक्षण गर्दा उपभोगका लागि अनुपयुक्त मासु फेला परेपछि बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । मासु पसल सञ्चालन गर्ने व्यवसायीलाई स्वच्छता, गुणस्तर र कानुनी मापदण्ड पालना गर्न आग्रह गर्दै नगरपालिकाले उपभोक्तालाई पनि स्वस्थ र स्वच्छ मासु खरिद गर्न सचेत रहन आग्रह गरेको छ ।

अनुगमन पश्चात बोल्दै वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्टले अनुगमनका क्रममा अव्यवस्थित रुपमा राखिएको अवस्थामा मासुहरु बरामद गरिएको बताए । उनले चाडपर्वको बेला अखाद्य वस्तुहरुको बिक्रिवितरण बढी हुने भएकाले अनुगमन गरिएको बताए ।

उनले नगरपालिकाले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने बताए । त्यसबाहेक उनले नगरपालिकाको अनुगमनले मात्रै बजारमा अखाद्य वस्तुहरुको बिक्रिवितरण कम नभैरहेको अवस्थामा सबैको सहयोगको आवश्यकता रहेको बताए । उनले व्यवसायीहरुले अखाद्य एवम् गुणस्तरहित वस्तुहरुको बिक्रिवितरण रोक्न आग्रह समेत गरे ।