खाेज्नुहाेस

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता

Image

बैतडी – बैतडीमा शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीले सञ्चालन गरेको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत दुई महिनाको अवधिमा ११ जना अशक्त तथा अपाङ्गता भएका नागरिकले नागरिकता प्राप्त गरेका छन्।

attariya hospital

कार्यक्रमअन्तर्गत बिहीबार मात्रै पाँच जनालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन्।

navjiwan hospital

सुर्नया गाउँपालिका–८ कठमडाकी ७३ वर्षीया धाना साउँदले पनि बिहीबार नागरिकता प्राप्त गरेकी छन्। नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुँदै आएकी उनलाई घर नजिकै ढोल्यामोडमा पुगेर नागरिकता प्रदान गरिएको हो।

त्यस्तै, सिगास गाउँपालिका–२ की १६ वर्षीया मनिषाकुमारी धामी, १९ वर्षीय मुकुन्दसिंह धामी र १६ वर्षीय वसन्त नेपालीलाई वडा कार्यालयमै पुगेर नागरिकता प्रदान गरिएको छ। सिगास गाउँपालिका–१ का १६ वर्षीय रन्जित भुललाई पनि घरपायक पर्ने स्थानमा नागरिकता उपलब्ध गराइएको छ।

शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

जिल्ला प्रशासन कार्यालयले नागरिकताबाट वञ्चित अशक्त तथा अपाङ्गता भएका नागरिकको विवरण संकलनका लागि जिल्लाका सबै वडामा पत्राचारसमेत गरेको जनाएको छ।