अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– १ भरपुरकी बिस्ना भट्ट अहिले भारतमा छिन् । करिब ४ वर्ष अघि परिवारसहित भारत गएकी उनको भरतपुरमै ऐलानीप्रति जग्गामा एउटा घर थियो । केही समय अघि भने सो घरमा अर्को व्यक्ति आएर बसोबास गरिरहेको बिस्नाले थाहा पाइन । छरछिमेकबाट बुझ्दै जाँदा घरमा बसोबास गर्न आएका ती व्यक्तिले आफूले घर किनेर बस्न थालेको खबर बिस्नाले पाएपछि उनी छाँगाबाट खसेजस्तो भइन । आफू भारतमा रहेको बेला आफ्नो घर अर्को व्यक्तिले कुनै तेस्रो व्यक्तिलाई बेचिसकेको थाहा पाएपछि उनी अहिले न्यायको खोजीमा भौँतारिरहेका छिन ।
भरतपुरमा रहेको बिस्नाको पक्की घर सोही वडाका डम्मरु भट्टले गोदावरी– २ की चित्रा खड्कालाई बेचेका हुन् । बिस्ना परिवारसहित भारत जाने बित्तिकै सो घरमा कब्जा जमाएका डम्मरुले केही समयसम्म सो घर भाँडामा पनि दिएका थिए । तर भाँडामा दिएको थाहा पाएपछि बिस्नाले डम्मरुलाई सम्पर्क गर्ने कोसिस गरे पनि डम्मरुले कुरा गर्नै नमान्ने गरेको बिस्नाले बताइन । ‘मैले पटक पटक भारतबाट सम्पर्क गर्ने कोसिस गरे पनि उनले (डम्मरु) ले म सँग कुरा गर्नै मानेनन्’ बिस्नाले भनिन् ‘पछि त्यो घर नै बेचेका रहेछन् भन्ने थाहा पाए ।’

ऐलानीप्रति जग्गामा घर निर्माण गरिएको भए पनि सो घर बिस्नाको नाममा रहेको केही प्रमाणहरू अत्तरिया खबर दैनिकले फेला पारेको छ । नगरपालिकाबाट गएको नापी टोलीले नाप नक्सांकन गरी दिएको निस्सा बिस्ना भट्टकै नाममा छ । त्यसबाहेक बिस्नाको नाममा सो घरमा जडान गरिएको पानीको मिटर र विद्युतको मिटर पनि रहेको छ । घर विक्री भएपछि बिस्नाको अनुपस्थितिमै खानेपानीको धारा नामसारी गरिएको छ भने बिजुलीको नयाँ मिटर जडान गरिएको छ ।

यता किनबेच गर्नेहरुले भने आफूहरु सँग पनि सो जग्गाको निस्सा रहेको दाबी गरेका छ । जग्गा बिक्री गर्ने डम्मरु भट्टको श्रीमती बसन्ती देवी सिंह भट्ट र जग्गा खरिद गर्ने चित्रा खड्काको आफ्ना नाममा निस्सा रहेको दाबी गरेका छन । यद्दपी उक्त निस्सा उनीहरुले देखाउन भने आनाकानी गरेका छन ।
बिस्नाको घर बेचेका डम्मरुले बिस्नाका श्रीमान् पदम भट्टले आफ्नो श्रीमतीलाई घर बेचेको दाबी गरेका छन् । उनले बिस्नालाई चेक बाउन्सको केसका समयमा आफूले आर्थिक सहयोग गरेकाले बिस्नाका श्रीमान् पदमले आफ्नो श्रीमतीको नाममा घर नामसारी गरेको बताए । उनले आफूलाई घर आवश्यक नभएकाले पछि उक्त घर चित्रा खड्कालाई बेचेको बताएका छन् । ‘पदमको परिवारलाई मैले ३०/३२ लाख सहयोग गरेको थिए’ उनले भने ‘त्यसैले पदमले घर मेरो श्रीमतीको नाममा गरेको हो ।’
तर बिस्नाका श्रीमान् पदम भट्टले आफूले कसैको नाममा पनि घर नामसारी नगरेको बताएका छन् । डम्मरु भट्टले आफूलाई ३०÷३२ लाख नभई ६ लाख ९० हजार रुपैयाँ मात्रै सहयोग गरेको बताउँदै पदमले सो सहयोग गरेकै आधारमा आफूले घर नामसारी गर्नुपर्ने अवस्था नआउने समेत स्पष्ट पारे । ‘डम्मरुले मलाई मेरो श्रीमती जेलमा भएको बेला ६ लाख ९० हजार रुपैयाँ मात्रै सहयोग गरेका हुन’ पदमले भने ‘त्यो पैसा मैले केही समय पछि तिर्ने प्रतिबद्धता गरेको थिए, तर म भारतमा आएपछि डम्मरुले म सँग कन्ट्याक्ट नै गरेनन्, उल्टो सबै सामाजिक सञ्जालबाट ब्लक गरेर बसे ।’ उनले डम्मरुले पैसा दिने क्रममा आफ्नो दुई ओटा श्रीमती रहेको र एउटालाई यो घर दिने भन्ने कुरा मौखिक रूपमा भनिदिन आग्रह गरेकाले त्यो समयमा आफूले मौखिक रूपमा भने सो घर उनकै नाममा हुने भनेको बताए । उनले आफ्नो घर कब्जा गर्नका लागि डम्मरु कन्ट्याक्टमा नआएको समेत बताए ।
श्रीमानले मौखिक रूपमा भनेको कुरालाई जालसाजी र ठगी गरेर घर नै हत्याउने कार्य गरेको भन्दै बिस्नाले डम्मरुलाई आवश्यक कारबाही गर्न आग्रह गरेकी छन् । उनले निस्सा आफ्नो नामको हुँदा पनि श्रीमानले मात्रै चाहेर पनि सो जमिन र घर बेच्न नपाउने समेत बताइन । ‘निस्सा मेरो नाममा छ, मलाई कुनै जानकारी नै छैन अनि कसरी कागजात बनाएर घर बेचियो ?’ उनले भनिन् ‘मेरो नाममा नाप नक्सांकन भएको जमिन अर्कोले त्यत्तिकै कसरी बेच्न पाउँछ ?’
जग्गा खरिद गर्ने चित्रा खड्काले भने डम्मरुले निस्सा देखाएपछि आफूले जग्गा खरिद गरेको बताएकी छिन । उनले जग्गा खरिद गरेपछि निस्सा पनि आफ्नो नाममा बनाएको दाबी गरिन ।















