अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित डि.के. पेट्रोल पम्प नजिकबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २४८ मिलिग्रामसहित २८ वर्षीय अमन पन्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–६ जाईबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २०२ मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय सन्जित चौधरी र ३८ वर्षीय प्रेमलाल राना रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले आइतबार राति शंका लागेर चेकजाँच गर्दा लागूऔषध फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।


यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ बागबाणीका २७ वर्षीय आसुतोष सिनाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेकजाँच गर्दा सिनालको साथबाट अवैध नियन्त्रित लागूऔषध फेनारगन एम्पुल ६३ थान र बी–जेसिक एम्पुल ६३ थान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














