डडेल्धुरा – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले बिहीबारदेखि डडेल्धुराका ५२ वटै वडामा अधिवेशन सुरु गरेको छ । कांग्रेसले १८ असोजदेखि १५ औं महाधिवेशनको तयारी गरिरहेका बेला देउवा समूहले समानान्तर रूपमा वडाबाट बिहीबारदेखि महाधिवेशन प्रक्रिया सुरु गरेको हो ।
कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको नेतृत्वमा डडेल्धुरामा वडा अधिवेशन सुरु भएको हो । ‘सबै वडामा प्रतिनिधि खटाएर वडा अधिवेशनको काम भइरहेको छ,’ उपसभापति जोशीले भने, ‘१/२ दिनमा सबैमा वडामा अधिवेशन सकिन्छ ।’


देउवा पक्षमा जिल्ला उपसभापतिहरू डिल्लीराज जोशी, लक्ष्मीप्रसाद अवस्थी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐरलगायतका नेता सहभागी छन् । जिल्लाका सातवटै पालिकाका ५२ वडामा अधिवेशन हुने उपसभापति जोशीको दाबी छ ।
कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा कांग्रेस बीपीका पूर्वउपसभापति कर्ण मल्लको समूहले संस्थापन र देउवा पक्षको अधिवेशनमा सहभागी छैनन् । मल्ल असोज ४ मा सुरु भएको संस्थापन पक्षको अधिवेशनमा पनि सहभागी थिएनन् । उनी देउवा पक्षले आयोजना गरेको अधिवेशनमा पनि सहभागी हुनेबारे कुनै जानकारी नभएको उपसभापति जोशीले बताए ।
कांग्रेसको संस्थापन पक्षले असोज ४ र ५ डडेल्धुरामा वडा अधिवेशन सम्पन्न गरे महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरिसकेको छ । संस्थापन पक्षमा कांग्रेस जिल्ला सभापति भीमबहादुर साउाद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत, शेरबहादुर भण्डारी, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव प्रेमबहादुर महर तथा गोविन्दराज बोहरा, हरि भट्ट, करुणाकर भट्टलगायत बहुमत सदस्यहरू वडाधिवेशनमा सहभागी भएका थिए ।

















