काठमाडौं – कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अलग्गै महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार देउवाको निवास महाराजगञ्जमा बसेको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै १४औं केन्द्रीय समितिका सदस्यलाई वर्तमान कार्यसमितिमा सहभागी गराउने निर्णय गरेको थियो । तर त्यो निर्णयलाई देउवा समूहले अस्वीकार गर्दै आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।

देउवा समूहका नेता प्रकाशशरण महतले वडा महाधिवेशनको चार दिनअघि यस्तो आह्वान गर्नुको कुनै तुक नभएको बताए । महतले यसअघि आफ्नो समूहले प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको बताए ।



















