बाजुरा – बाजुराको बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आइतबार बिहान सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । खोजी कार्य गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेको उनले जानकारी दिए ।


यस्तै, मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बस्ने २१ वर्षका सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।
कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।



















