धनगढी– निजि संस्थासँग क्याम्पसले सम्झौता गरेको भन्दै कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विरोध जनाएको छ । कैलाली बहुमुखी क्याम्पस प्रशासन र धनगढीस्थित चैतन्य एकेडेमीबिच भएको दुई वर्षे समझदारीप्रति क्याम्पसको स्ववियुले चर्को विरोध जनाएको हो ।
भदौ १५ गते क्याम्पस र चैतन्य एकेडेमीबिच लोकसेवा, शिक्षक सेवा, बैंकिङलगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने विषयमा समझदारी भएको थियो । सम्झौताअनुसार क्याम्पसका २० जना जेहेन्दार विद्यार्थीलाई निःशुल्क तथा १०० जनालाई सहुलियत शुल्कमा तयारी कक्षा उपलब्ध गराउने उल्लेख छ । समझदारी पत्रमा केएमसीका तर्फबाट क्याम्पस प्रमुख डा. लोकेन्द्रबहादुर बिस्ट र सह–प्राध्यापक डा. राजेन्द्रवीर चन्द तथा चैतन्य एकेडेमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी र प्राचार्य प्रेमनिधि ओझाले हस्ताक्षर गरेका छन् ।


सम्झौता सार्वजनिक भएपछि स्ववियुले निजी संस्थाको व्यापारिक स्वार्थलाई क्याम्पसको संरचना र प्रतिष्ठासँग जोड्न खोजिएको आरोप लगाएको छ । स्ववियु सभापति सन्तोष पन्त र सचिव ओमप्रकाश बस्तीले जारी गरेको विज्ञप्तिमा विद्यार्थी सरोकारका विषयमा विद्यार्थी प्रतिनिधिलाई सहभागी नगराई एकलौटी र अपारदर्शी ढंगले सम्झौता गरिएको उल्लेख छ ।
स्ववियुले क्याम्पसमा हजारौँ विद्यार्थी अध्ययनरत रहे पनि सीमित विद्यार्थीलाई मात्रै निःशुल्क तथा सहुलियत कक्षा उपलब्ध गराउने व्यवस्था आपत्तिजनक भएको जनाएको छ । बाँकी विद्यार्थीलाई आर्थिक भार पर्ने र यसले क्याम्पसको शैक्षिक सेवाभन्दा निजी संस्थाको प्रचार तथा बजारीकरणलाई प्राथमिकता दिएको स्ववियुको आरोप छ ।
स्ववियुले क्याम्पसकै स्रोत र साधन प्रयोग गरेर सबै विद्यार्थीका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । बाह्य निजी संस्थासँग सम्झौता गरेर विद्यार्थीमाथि आर्थिक भार थप्न खोजिएको भन्दै सम्झौता तत्काल खारेज गर्न माग गरिएको छ ।
विद्यार्थीहरूको शैक्षिक तथा आर्थिक हितविपरीत अपारदर्शी ढंगले सम्झौता गरिएको आरोप लगाउँदै स्ववियुले विरोध जनाएको हो । विरोधकै क्रममा विद्यार्थीहरूले क्याम्पस प्रमुखको कुर्सीसमेत निकालेर स्ववियु कार्यालयमा राखेका छन् । स्ववियु सचिव ओमप्रकाश बस्तीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनले माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए । स्ववियु सभापति सन्तोष पन्तले सम्झौता खारेज गरी सबै विद्यार्थीका लागि क्याम्पसभित्रै निःशुल्क र गुणस्तरीय तयारी कक्षाको व्यवस्था नभएसम्म आन्दोलन जारी रहने बताए ।



















