खाेज्नुहाेस

सुदूरपश्चिममा एक महिनामा लागू औषधका ४७ मुद्दा दर्ता

Image
सांकेतिक फोटो

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकै महिनामा लागू औषधका ४७ मुद्दा दर्ता भएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार असोज महिनामा मात्रै उक्त मुद्दा दर्ता भएका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरण अनुसार सो मुद्दामा ८४ जना अभियुक्तहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ८३ जना पुरुष र १ जना महिला रहेका छन ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा अवैध लागुऔषध समेत बरामद गरेको छ । बरामद गरिएका लागुऔषधमा १ किलो ९० ग्राम १२७ मिलिग्राम चरेश, १२४ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन र ६२१ वटा फेनार्गन, स्पाश तथा ट्रमाडोल जस्ता ट्याब्लेटहरू रहेको प्रदेश कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले बताए । उनले सीमानाका, बसपार्क तथा शंकास्पद क्षेत्रहरूमा कुकुर टोलीसहित नियमित र आकस्मिक चेकजाँच बढाएपछि लागुऔषध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको बताए ।

attariya hospital

प्रतिवेदन अनुसार असोज महिनामा सुदूरपश्चिम प्रदेशभर कुल ३२० वटा अपराधका घटनाहरू दर्ता भएका छन् । जसमा ज्यान सम्बन्धी ६१, आत्महत्या ५१, चोरी २०, संगठित तथा आर्थिक अपराध ११, सामाजिक अपराध ४४, महिला तथा बालबालिका सम्बन्धी २७, सवारी ज्यान १५ र अन्य ९ वटा मुद्दाहरू रहेका छन् । जधन्य तथा गम्भीर अपराधतर्फ प्रदेशभर ७९ वटा घटनाहरू दर्ता भएका छन् । जसमध्ये कर्तव्य ज्यानका ४, हातहतियार १, मानव बेचबिखन १, बैंकिङ कसुर २९, जुवातास ८, ठगी ९ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित २७ वटा घटना रहेका छन् । पुराना र पेन्डिङ मुद्दा अनुसन्धानतर्फ कुल २,३५१ पेन्डिङ मुद्दामध्ये असोज महिनामा ६८ वटा मुद्दा फछ्र्यौट गरिएका छन् ।

navjiwan hospital

त्यसैगरी अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ३४ वर्ष ७ महिना २२ दिन कैद सजाय र ४५ लाख ५ हजार ७७७ रुपैयाँ जरिवाना असुल गराउन सफल भएको छ ।

२३५ सवारी दुर्घटना

प्रतिवेदन अनुसार असोज महिनामा प्रदेशमा कुल २३५ वटा सवारी दुर्घटनाहरू भएका छन् । यी दुर्घटनाहरूमा परी १२ जनाले ज्यान गुमाएका छन् भने ३६३ जना घाइते भएका छन् । दुर्घटनाको कारण विश्लेषण गर्दा चालकको लापरबाहीका कारण मात्रै २०८ वटा दुर्घटना भएको पाइएको छ । प्रहरीले यस अवधिमा ३ हजार ९०३ वटा सवारी साधनलाई कारबाही गरी ३३ लाख ८६ हजार ५ सय राजश्व संकलन गरेको छ । प्रदेशमा राजश्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ पनि प्रहरीले कडाइ गरेको छ । असोज महिनामा भन्सार छली ल्याइएका अन्दाजी २ करोड २० लाख ६ हजार ८०८ रुपैयाँ बराबरका सामानहरू बरामद गरी २४ जनालाई पक्राउ गरिएको छ ।

यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन तथा प्राकृतिक सम्पदा दोहनमा संलग्न ५ जना र २८ वटा सवारी साधन नियन्त्रणमा लिई ३ लाख ३४ हजार ९ सय जरिवाना गरिएको छ भने अवैध वन पैदावार चोरी पैठारी नियन्त्रणतर्फ ६२ क्युफिट काठ र १ वटा सवारी साधन बरामद गरी ३ लाख १५ हजार ९० रुपैयाँ राजश्व संकलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।