कञ्चनपुर– कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यस्तै, एक करोड पाँच लाख १८ हजार ११९ राजस्व सङ्कलन भएको सूचना नवराज अधिकारी भट्टले जानकारी दिए। उनका अनुसार एक हजार ५३४ पर्यटक यो नाकाबाट बाहिरिएका छन्।

कार्यालयका अनुसार २०२२ मा ५४२ पर्यटक सो नाका भएर नेपाल आएका थिए। यस्तै, २०२३ मा ९८३ र २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनको तथ्याङ्क छ।

सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेका छन्।
सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशनर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचारप्रसार नहुँदा यो नाकाबाट आएका पर्यटक समेत अन्यत्र जाने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन्।
















