अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा स्टिम क्लब स्थापना गरिएको छ । विद्यालयमा विज्ञान प्रविधिमा रुचि राख्ने विद्यार्थीहरुलाई सहभागि गराएर विद्यालयले क्लब गठन गरेको हो । जसको अध्यक्षमा विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्र सक्षम उपाध्याय रहेका छन् ।

क्लबको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले दुर्गालक्ष्मीले परम्परागको जर्गेनाका साथसाथै आधुनिकतामा फड्को मार्नुपर्छ भन्ने उद्देश्यले स्टिम क्लब स्थापना गरिएको बताए । उनले स्टिम क्लबले विद्यार्थीहरुमा रहेको विज्ञान प्रविधिबारेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने विश्वास लिएको बताए ।

विद्यालय व्यवस्थापन समितिकी सदस्य मञ्जु साउँदले स्टिम क्लब विद्यालयको मुटुको रुपमा रहने बताईन । उनले प्रविधिको जमानामा विद्यार्थीहरुलाई पनि विद्यालयले प्रविधिमा जोडिरहेको बताईन ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक वीर सिँ महताले विद्यालयस्तर देखी नै विज्ञान प्रविधि र आधुनिक सोचको विकास विद्यार्थीहरुमा गर्नका लागि स्टिम क्लबको स्थापना गरिएको बताए । उनले स्टिम क्लबको सफलताका लागि विद्यालयले हरेक तबरबाट सहयोग गर्ने बताए ।
स्टिम क्लबको स्थापना सँगै विद्यालयमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । जसमा मानव जिवनमा र अन्य विभिन्न क्रियाकलापमा आवश्यक पर्न सक्ने कुराहरुलाई विद्यार्थीहरुले नमुनाका रुपमा प्रस्तुत गरेका थिए ।















