खाेज्नुहाेस

कञ्चनपुरमा च्याउ खोज्न जाँदा हराएका १४ जना पनि भेटिए

Image

कञ्चनपुर – कञ्चनपुरमा च्याउ खोज्दा खोज्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हराएका १४ महिला पनि सकुशल भेटिएका छन । उनीहरु सोमबार दिउँसो सवा १२ बजेतिर आफै सकुशल घर पुगेका हुन ।

 निकुञ्ज भित्र प्रवेश गरेपछि बाटो थाहा नपाएर हराएका उनीहरु आफै घर पुगेको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले बताए । उनीहरु आइतबार बिहान घरबाट च्याउ खोज्न जंगल गएका थिए ।

attariya hospital

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्ज भित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।

navjiwan hospital

उनीहरू ९ जना र ५ जनाको समूह बनाएर च्याउ खोज्न हिंडेका थिए । सम्पर्कविहीन भएकाहरूको आइतबार राति ९ बजेदेखि नै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको थियो । अहिले उनीहरुलाई भेट्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहितको टोली बागफाँटा पुगेको छ ।

च्याउ खोज्नकै लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएर सम्पर्कविहीन भएका बेलडाँडीका तीन महिलाको पनि सकुशल उद्दार गरिएको छ ।

बेलडाँडी गाउँपालिका–३ को चउन्नीका तीन महिलाको नेपाली सेनाको टोलीले निकुञ्ज क्षेत्रमा सकुशल फेला पारेर उद्दार गरेको थियो । सेनाले च्याउ खोज्न निकुञ्ज गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरीको सकुशल उद्दार गरेको थियो ।

उनीहरु पनि आइतबार च्याउ खोज्न निकुञ्ज क्षेत्रभित्र प्रवेश गरेका बेला हराएका थिए ।