कञ्चनपुर – विभिन्न मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०८२ चैत १६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१० काठेपुल निवासी ४३ वर्षीय जनकबहादुर भाटलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरबाट पक्राउ गरेको हो।

त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ३ गतेको फैसलाले लेनदेन मुद्दामा १ लाख रुपैयाँ बिगो बापत १ वर्ष ३ महिना १३ दिन कैद सजाय तोकेकी भीमदत्त नगरपालिका–५ सुकासाल अवस्थी चौराहा निवासी ३० वर्षीया जानकी सुनारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।



















