खाेज्नुहाेस

‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट फिल्म

Image

काठमाडौं – नेपाली फिल्म क्षेत्रका उत्कृष्ट स्रष्टा, कलाकार तथा प्राविधिकलाई सम्मानित गर्ने उद्देश्यले प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार २०८३ शुक्रवार राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भएको छ । समारोहमा नेपाली फिल्म क्षेत्रका विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठलाई नेपाली फिल्म क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप दीर्घ साधना सम्मान प्रदान गरिएको छ । उक्त सम्मानसँगै ३ लाख ७५ हजार रुपैयाँ नगद पनि प्रदान गरिएको थियो ।

यस वर्ष ‘उनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । यो फिल्मले उत्कृष्ट फिल्मको पुरस्कारसँगै २५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । सोही फिल्मका निर्देशक नबिन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

attariya hospital

दुवै विधाका विजेताले २५–२५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । फिल्म ‘परान’ का नीर शाह उत्कृष्ट अभिनेताको रूपमा सम्मानित भए । यसैगरी फिल्मका लेखकद्वय दिपक प्रसाद आचार्य तथा यम थापा लाई उत्कृष्ट लेखक पुरस्कार प्रदान गरिएको छ । यी सबै विधाका पुरस्कारसँग २५ हजार रुपैयाँ नगद पनि समावेश रहेको थियो । प्राविधिक विधातर्फ फिल्म ‘कोशेढुंगा’ का बाबु श्रेष्ठ उत्कृष्ट छायाङ्कन तथा नहकुल खड्का उत्कृष्ट सम्पादनतर्फ पुरस्कृत भएका छन् । दुबैलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । आदिवासी भाषाका फिल्ममध्ये ‘इन्दिरा धिमे मैचा’ (नेपाल भाषा) उत्कृष्ट आदिवासी फिल्म घोषित भएको छ । उक्त फिल्मलाई पनि २५ हजार नगदसहित पुरस्कार प्रदान गरिएको छ ।

जुरी प्रोत्साहन र विशेष चलचित्र पुरस्कार

navjiwan hospital

जुरी प्रोत्साहन पुरस्कार अभिनेत्री आना शर्मा अभिनित फिल्म ‘रमिताको पिरती’ तथा बिमोचन दवाडी अभिनित फिल्म ‘झरी पछीको इन्द्रेणी’ लाई प्रदान गरिएको छ । त्यसैगरी विशेष चलचित्र पुरस्कार फिलम ‘नाक्छोङ’ लाई प्रदान गरिएको छ । उक्त फिलमका निर्देशक ज्योति राज राई को सिर्जनात्मक योगदानको समेत कार्यक्रममा विशेष प्रशंसा गरिएको थियो ।

विभिन्न व्यक्तित्वलाई सम्मान

कार्यक्रममा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरूमा चलचित्र प्रदर्शक विष्णु गोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता तथा प्रदर्शक डा. सिंह गुरुङ, पत्रकार प्रकाश सुवेदी, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, अभिनेत्री एञ्जिला सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता बिनोद सेरचन तथा प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन् । यसैबीच स्वर्गीय दिनेश सिटौला लाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । उहाँको योगदानको कदरस्वरूप परिवारलाई रु ५० हजार नगदसमेत हस्तान्तरण गरिएको थियो ।

सांगीतिक प्रस्तुतिले थप आकर्षण

पुरस्कार वितरण समारोहमा कलाकार देविका बन्दना र नरहरी प्रेमी ले सांगीतिक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले समारोहलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको उपस्थित दर्शकहरूले बताएका थिए । चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो । राष्ट्रिय चलचित्र पुरस्कारलाई नेपाली चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित सरकारी सम्मानमध्ये एक मानिन्छ । यसले चलचित्र क्षेत्रका स्रष्टा, कलाकार र प्राविधिकहरूको योगदानको मूल्यांकन गर्दै नयाँ पुस्तालाई समेत सिर्जनात्मक कार्यमा प्रेरित गर्ने विश्वास लिइएको छ ।