खाेज्नुहाेस

एआईको विकाससँगै बढ्दै नयाँ संकट, १० किलोमिटरसम्म फैलियो ‘हट जोन’

Image

काठमाडौँ – टेक कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) चलाउने पूर्वाधार निर्माण गर्न तीव्र प्रतिस्पर्धामा छन् । तर प्रमाणहरूले देखाउँछ गुगल, अमेजन र माइक्रोसफ्ट जस्ता ठुला क्लाउड सेवा प्रदायक (हाइपरस्केलर) एआईहरूले आफ्ना वरपरको जमिन पनि तताइरहेका छन् ।

क्याम्ब्रिज नेतृत्वको अनुसन्धानकर्ताहरूको एक अध्ययनअनुसार एआई डेटा सेन्टर वरपरको भूमिको सतहमा तापक्रम औसत २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढ्छ । केही क्षेत्रमा यो वृद्धि ९ डिग्री सेल्सियस (१६.२ डिग्री फरेनहाइट) सम्म पुगेको पाइएको छ ।

attariya hospital

अनुसन्धानकर्ताहरूले यसलाई ‘डेटा हिट आइल्यान्ड इफेक्ट’ भनेका छन् । त्यसो भए यो प्रभावले के जनाउँछ ? एआई डेटा सेन्टरहरू कहाँ केन्द्रित छन् ? र, ती संरचनाहरू नजिक बस्ने मानिसहरूमा यसको असर के हुन्छ ?

एआई डेटा सेन्टरले कति ऊर्जा प्रयोग गर्छन् ?

हरेक पटक कुनै व्यक्तिले च्याटजीपीटी, जेमिनी, वा क्लाउड प्रयोग गर्दा तिनको अनुरोध डेटा सेन्टरमार्फत प्रशोधन हुन्छ । र, त्यो डेटा सेन्टर २४ घण्टा चल्ने विशेष कम्प्युटरहरूले भरिएको विशाल सुविधा हो ।

एआई डेटा सेन्टरहरूले हजारौँ गणना एकैसाथ गर्न सक्ने शक्तिशाली चिफहरू प्रयोग गर्छन् । अनि ठुला मोडेलहरू निरन्तर चलाउँदा सामान्य वेब सर्भरभन्दा धेरै नै ऊर्जा खपत हुन्छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार, डेटा सेन्टरहरूले सन् २०२४ मा करिब ४१५ टेरावाट प्रति घण्टा (टिडब्लुएच) बिजुली प्रयोग गरेका थिए । यो भनेको विश्वको कुल आपूर्तिको करिब १.५ प्रतिशत हो । अनि पछिल्ला पाँच वर्षमा यो करिब १५ प्रतिशत वार्षिक दरले बढिरहेको छ । यो संख्या सन् २०३० सम्म करिब ९४५ टडब्लुएच पुग्ने अनुमान गरिएको छ ।

सबैभन्दा धेरै ऊर्जा खपत गर्नेमा हाइपरस्केल डेटा सेन्टरहरू पर्छन् । यी ठुला संरचनाहरू प्रमुख टेक कम्पनीहरूले क्लाउड कम्प्युटिङ र एआईलाई विश्वव्यापी स्तरमा सञ्चालन गर्न निर्माण गर्छन् । आईबिएमका अनुसार, यस्ता सेन्टरहरूमा सामान्यतया कम्तीमा ५,००० सर्भर हुन्छन् र कम्तीमा १०,००० वर्ग फिट (९३० वर्ग मिटर) क्षेत्र ओगट्छन् ।

हाइपरस्केल डेटा सेन्टरहरूलाई सञ्चालन गर्न सामान्यतया १०० देखि ३०० मेगावाट बिजुली निरन्तर रूपमा आवश्यक पर्छ । यो भनेको सयौं हजार घरहरूलाई पर्याप्त हुने विद्युत् आपूर्ति हो ।

त्यसैगरि, यो ऊर्जाले ठुलो मात्रामा गर्मी उत्पादन गर्छ, जसलाई व्यवस्थापन गर्न उन्नत लिक्विड कूलिङ प्रणाली प्रयोग गरिन्छ । यस प्रणलीले ठुलो मात्रामा पानी खपत गर्छ ।

यूके सरकारको डिजिटल सस्टेनेबिलिटी सल्लाहकार निकायको प्रतिवेदन अनुसार, १०० मेगावाट क्षमताको एक हाइपरस्केल डेटा सेन्टरले वार्षिक करिब २.५ अर्ब लिटर (६६० मिलियन ग्यालन) पानी प्रयोग गर्न सक्छ । र, यो भनेको ८०,००० मानिसहरूको वार्षिक आवश्यकता पुरा गर्ने पानीको मात्रा हो ।

डेटा सेन्टर निर्माणको तीव्र वृद्धि

एआई डेटा सेन्टर निर्माण विश्वव्यापी रूपमा अभूतपूर्व गतिमा विस्तार भइरहेको छ । सन् २०२६ जुनसम्म विश्वभर ११,६०० भन्दा बढी डेटा सेन्टर सञ्चालनमा छन् । डाटा सेन्टर म्यापका अनुसार सबैभन्दा धेरै डेटा सेन्टर संयुक्त राज्य अमेरिकामा छन्, जहाँ ४,३०० भन्दा बढी छन् ।

navjiwan hospital

युरोप दोस्रो ठुलो केन्द्र हो । त्यसमा पनि बेलायत अगाडि छ । त्यहाँ ५४० भन्दा बढी डाटा सेन्टर छन् र मुख्य रूपमा लन्डन वरपर केन्द्रित छन् । त्यसपछि जर्मनीमा ५२० भन्दा बढी र फ्रान्स ३९० भन्दा बढी छन् ।

एसियामा चीनमा ३६० भन्दा अधिक र भारत ३०० भन्दा ज्यादा छन् । दक्षिण–पूर्वी एसिया तीव्र रूपमा विस्तार भइरहेको क्षेत्र हो र यस क्षेत्रलाई क्लाउड तथा डेटा सेन्टर क्षमताको सबैभन्दा छिटो आकासिने बजारमध्ये एक मानिन्छ ।

सिनर्जी रिसर्च ग्रुपका अनुसार, विश्वभर हाइपरस्केल डेटा सेन्टरहरूको संख्या सन् २०२१ यता झण्डै दोब्बर भएको छ । यो ७०० बाट बढेर १,२९७ पुगेको छ ।

एआई डेटा सेन्टरले कति तातो उत्पादन गर्छ ?

क्याम्ब्रिज, नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी लगायतका अनुसन्धानकर्ताहरूको अध्ययन अनुसार, एआई डेटा सेन्टर सञ्चालनमा आएपछि वरपरको जमिनको सतहमा तापक्रम औसत २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढ्छ, र यसको प्रभाव १० किलोमिटर (६ माइल) टाढासम्म महसुस गर्न सकिन्छ ।

यसको प्रभाव ‘अर्बन हिट आइल्यान्ड इफेक्ट’ जस्तै हुन्छ । मानव गतिविधिको केन्द्रित प्रभावले सहरहरू वरपरका ग्रामीण क्षेत्रभन्दा बढी तातो हुन्छन् ।

नासाको उपग्रह तथ्यांक प्रयोग गरेर अनुसन्धानकर्ताहरूले सन् २००४ देखि २०२४ सम्म विश्वव्यापी जमिनको सतहको तापक्रम मापन गरे र ११,००० भन्दा बढी एआई डेटा सेन्टर स्थानसँग तुलना गरे । अध्ययनले घना जनसङ्ख्या नभएका क्षेत्रका ६,७३३ सेन्टरहरूमा ध्यान केन्द्रित गर्दै, प्रत्येक सेन्टर खुलेपछि पाँच वर्षको तापक्रमको उचरचढाव तुलना गरिएको थियो ।

अध्ययनमा तापक्रम वृद्धि ०.३ डिग्री सेल्सियस (०.५४ डिग्री फरेनहाइट) देखि ९.१ डिग्री सेल्सियस (१६.३८ डिग्री फरेनहाइट) सम्म पाइएको थियो ।

अध्ययनले १० किलोमिटर भित्र बस्ने ३४ करोडभन्दा बढी मानिसहरू यस तापक्रम वृद्धिबाट प्रभावित हुन सक्ने देखाएको छ । अनुसन्धानकर्ताहरूले यसलाई समुदाय र क्षेत्रीय स्तरमा ‘उल्लेखनीय प्रभाव’ भएको भन्दै वातावरणमैत्री एआईबारे विश्वव्यापी छलफलमा यसलाई समावेश गर्नुपर्ने बताएका छन् ।

तपाईंले कति टाढासम्म तातो महसुस गर्न सक्नुहुन्छ ?

धेरैजसो डेटा सेन्टरहरू घना बस्तीबाट टाढा औद्योगिक क्षेत्रमा हुन्छन्, तर तिनीहरूको अतिरिक्त तातोले स्थानीय ‘डेटा हिट आइल्यान्ड’ सिर्जना गर्न सक्छ, जुन १० किलोमिटर (६ माइल) टाढासम्म पनि मापन गर्न सकिन्छ ।

यसले नजिकका समुदायमा स्वास्थ्य, ऊर्जाको माग र समग्र जीवनस्तरमा अतिरिक्त दबाब पार्न सक्छ ।

५.३ ट्रिलियन डलरको पुँजी खर्च

गोल्डम्यान स्याक्सका अनुसार, सन् २०२५ देखि २०३० सम्म चार ठुला हाइपरस्केलरहरू (माइक्रोसफ्ट, अमेजन, अल्फाबेट र मेटा)ले संयुक्त रूपमा ५.३ ट्रिलियन डलर पुँजी खर्च गर्ने अपेक्षा गरिएको छ ।

आगामी मुख्य परियोजनाहरूमा निम्न पर्छन् : १) मेटाको २७ अर्ब डलरको हाइपरियन क्याम्पस (लुइसियाना) २) माइक्रोसफ्टको २० अर्ब डलरको डेटा सेन्टर विस्तार (विस्कन्सिन) ३) अमेजनको २५ अर्ब डलरको डेटा सेन्टर लगानी (मिसिसिपी) ४) गुगलको १५ अर्ब डलरको हाइपरस्केल क्याम्पस ‘प्रोजेक्ट स्पेड’ (न्यू फ्लोरेन्स, मिसौरी) ५) ओरेकलको ‘प्रोजेक्ट स्टारगेट’ अन्तर्गतको एबिलिन, टेक्सासमा ओपनएआईका लागि विशाल एआई सुपरक्लस्टर, जसको कुल क्षमता १.२ गिगावाटदेखि २ गिगावाटसम्म छ ।