
बैतडी – देशभर खाना पकाउने ग्यासको अभाव देखिएका बेला बैतडीमा ग्यासको उपलब्धता र सम्भावित कृत्रिम अभावबारे बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको टोलीले गोठलापानी, देहीमाण्डौं, सतबाँझ, पाटनलगायत मुख्य बजारमा ग्यास विक्रेता पसलको अनुगमन गरेको हो।
अनुगमनका क्रममा मुख्य बजारमा ग्यासको अभाव नरहेको पाइएको प्रशासकीय अधिकृत भोजलाल थारुले बताए। चाडपर्व नजिकिँदै गर्दा कालोबजारी, महँगी र कृत्रिम अभाव रोक्न खाद्यान्न तथा मेडिकल पसलमा समेत अनुगमन भइरहेको प्रशासनले जनाएको छ।



















