खाेज्नुहाेस

अब मान्छेजस्तै रोबोटले कार बनाउने

Image

बीएमडब्लूले युरोपमा कार निर्माण प्रक्रियामा पहिलो पटक ह्युमानोइड (मान्छेजस्तै) रोबोट प्रयोग गर्ने भएको छ। कार उत्पादनमा दुई रोबोट प्रयोग गरिने योजना छ। हाल ती रोबोटहरू जर्मनीको लाइपजिग कारखानामा परीक्षण चरणमा छन्। बीएमडब्लूका प्रोसेस म्यानेजमेन्ट तथा डिजिटालाइजेसन प्रमुख माइकल निकोलाइड्सका अनुसार यो अटोमोबाइल उत्पादनको भविष्य हुनेछ।

कार उद्योगमा रोबोटिक आर्म र अन्य स्वचालित प्रणालीहरू दशकौँदेखि प्रयोग हुँदै आएका छन्। तर अहिले मानव आकृतिका रोबोटतर्फ किन जाने?

attariya hospital

निकोलाइड्स भन्छन्, ‘रोबोट मानवजस्तै आकार र क्षमताको छ भने यसलाई जहाँसुकै मानव काम गर्ने स्थानमा सजिलै प्रयोग गर्न सकिन्छ।’ रोबोटको लागत घट्दै गएको र उत्पादन लाइन पुनः डिजाइन गर्नु अझै महँगो भएकाले मानव प्रक्रियासँग मिल्ने रोबोट प्रयोग गर्नु बढी लागत–प्रभावकारी भएको विज्ञहरू बताउँछन्।

navjiwan hospital

गार्ट्नरका विश्लेषक बिल रेका अनुसार पहिले जब रोबोट अत्यन्त महँगो थियो, कारखाना नै रोबोटअनुसार पुनःसंरचना गरिन्थ्यो, तर अहिले अवस्था बदलिएको छ। हेक्सागनद्वारा विकसित ‘एइओन’ नामक रोबोट मानवजस्तै आकृतिको छ। यसको उचाइ १.६५ मिटर र तौल करिब ६० किलोग्राम छ।

यसले २१ वटा सेन्सरहरू क्यामेरा, राडार, माइक्रोफोन तथा बल र टर्क प्रयोग गर्छ। यो रोबोटले २.४ मिटर प्रति सेकेन्डको गति लिन सक्छ र छोटो समयका लागि १५ किलोग्राम तथा निरन्तर ८ किलोग्राम भार बोक्न सक्छ।

बीएमडब्लूमा यी रोबोटहरूलाई मानव टेलिओपरेसन र एनभिडियाको डिजिटल ट्विन सफ्टवेयर प्रयोग गरी सिमुलेसनमार्फत तालिम दिइएको हो। रोबोटले बारम्बार कार्य सिमुलेट गरेर उत्तम समाधान खोज्ने प्रक्रिया प्रयोग गरिएको छ।

रोबोटलाई पार्ट उठाउने जस्ता कार्य मानवले कसरी गर्छ भन्ने देखाएर पनि सिकाइएको छ। एइओन रोबोटको ब्याट्री लाइफ तीन घण्टा मात्र छ, तर यसले आफैं ब्याट्री बदल्न सक्छ।

बीएमडब्लूले यी रोबोटलाई पार्ट आपूर्ति गर्ने, ब्याट्री असेंबलीमा सहयोग गर्ने तथा पिक–एन्ड–प्लेस जस्ता कार्यमा प्रयोग गर्नेछ। बीएमडब्लूका अनुसार यी रोबोटले दोहोरिने र शारीरिक रूपमा कठिन काममा सहयोग गर्नेछन् र श्रम अभावको समस्या पनि समाधान गर्न मद्दत गर्नेछन्।