कञ्चनपुर – पढाइदिने भन्दै भारततर्फ लगिरहेको अवस्थामा २५ जना बालबालिकालाई नाकाबाट फर्काइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बिहीबार बिहान उनीहरुलाई प्रहरी र शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाएको हो ।
देहरादुनको शाक्य सेन्टरमा पढाउन लैजाने भन्दै हुम्लाको सिमकोट गाउँपालिकालाई भारततफै लग्दै गरेको अवस्थामा कञ्चनपुरकी गड्डाचौकी नाकापारि बनवासा पुल छेउमा रहेको एसएसबीले रोकेको हो । सिमकोटकै पञ्चवीर बुढा, नन्दवीर बुढा र चेतन रावतले उनीहरुलाई लगिरहेका हुन् । बालबालिकाहरु भारत लगिरहेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी नेत्रमणि गिरीले बताए ।


उनका अनुसार बालाबालिकाहरु कसरी, कहाँ लगिँदै गरेको हो भन्ने विषयमा जाँचबुझ गरेर मात्रै निर्णय गरिने बताए । ‘अहिले के गर्ने भन्ने निर्णय भएको छैन, सबै कुरा बुझेर आवश्यक कारवाही गरिनेछ,’ उनले भने, ‘यसबारेमा बालबालिकाका अभिभावक र लैजाने व्यक्तिसँग छलफल गरिरहेका छौं ।’
भारततर्फ लगिँदै गरेका बालबालिका १०÷१२ वर्षमुनिका छन् । उनीहरुलाई कहाँ लैजान लागिएको हो भन्ने विस्तृत खुलेको छैन । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बालबालिकालाई पढाउन भारत लैजाने विषयमा सिफारिस माग्न आए पनि आफुले दिन नसकिने भन्दै फर्काएको बताए ।
उनका अनुसार पञ्चवीर र नन्दवीर दुवै जना यस पटक पनि सिफारिसका लागि वडा कार्यालयमा पुगेका थिए । तर आफुले सिफारिस नदिएको उनले बताए । ‘यहाँका बालबालिका विगतमा पनि पढाइका लागि भन्दै भारततर्फ लगेर दुःख पाएको हामीले देखेका छौं, त्यही भएर भारततर्फ लैजान सिफारिस दिन रोकेका छौं,’ उनले भने, ‘गाउँमा पनि बालबालिकालाई अर्काको भरमा नपठाउनुस् भनेर सम्झाउने पनि गरेका छौं ।’
देहरादुनमै पढाइका लागि गएका केही बालबालिकालाई विगतमा पनि छात्रावासमै कुटपिटका घटना भएका छन् । उनीहरुलाई बाहिर निस्किन नदिनेलगायतका घटना यसअघि पनि सार्वजनिक भएका थिए ।












