काठमाडौं । स्मार्टफोन आज हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ । तर धेरैजसो मानिसहरूले मोबाइल प्रयोग त हरेक दिन गर्छन्, तर त्यसका आधारभूत फिचरहरू पछाडिको कारण भने बुझ्दैनन् । यस्तै एउटा प्रश्न कहिले काहीँ तपाईंको मनमा पनि पक्कै आएको हुन सक्छ, अन्ततः फोनमा रिस्टार्ट गर्नु राम्रो हो कि सिधै पावर अफ गर्नु ? यदि दुवैको काम फोन बन्द गर्नु नै हो भने, एउटै फिचर पर्याप्त किन छैन ? आउनुहोस्, आज यसबारे विस्तारमा जानौँ ।
रिस्टार्ट र पावर अफमा के फरक छ ?

देख्दा दुवै विकल्प उस्तै जस्तो लागेपनि, वास्तवमा यी दुई फरक आवश्यकताका लागि प्रयोग हुन्छन् । जब तपाईं फोन रिस्टार्ट गर्नुहुन्छ, तब डिभाइस आफैं बन्द भएर तुरुन्तै फेरि अन हुन्छ । यस क्रममा डिभाइसमा चलिरहेका सबै एप्स र ब्याकग्राउन्ड प्रोसेसहरू बन्द हुन्छन्, जसले सिस्टमलाई नयाँ सुरुवात दिन्छ ।

अर्कोतर्फ, पावर अफ विकल्पले फोनलाई पूर्ण रूपमा बन्द गरिदिन्छ । त्यसपछि मोबाइल तबसम्म अन हुँदैन, जबसम्म प्रयोगकर्ताले आफैं पावर बटन थिचेर त्यसलाई अन गर्दैनन् । धेरै मानिसहरू सोच्दछन् कि मोबाइललाई स्विच अफ गर्दा त्यो अझ छिटो काम गर्न थाल्छ, तर प्राविधिक रूपमा रिस्टार्टले पनि लगभग त्यही काम गर्छ ।
कुन विकल्प फाइदाजनक छ ?
यदि तपाईंको डिभाइस अलि ढिलो चलिरहेको छ, एप्स बारम्बार अड्किरहेका छन्, वा फोन स्लो भइरहेको छ भने, रिस्टार्ट गर्नु सबैभन्दा सजिलो र प्रभावकारी उपाय हुन सक्छ । यसले सिस्टमलाई छिटो रिफ्रेस गर्छ र फोन फेरि स्मूथ रूपमा काम गर्न थाल्छ ।
यही कारणले एक्सपट्र्सले बेला बेलामा फोन रिस्टार्ट गर्न सुझाव दिन्छन्, तर आजभोलि हामी धेरैजसोले त्यो बिर्सिसकेका छौँ । हामीलाई पनि याद हुँदैन कि अन्तिम पटक हामीले आफ्नो फोन कहिले रिस्टार्ट गरेका थियौँ ।
तर केही अवस्थामा फोनलाई केवल रिस्टार्ट गर्नु पर्याप्त हुँदैन । उदाहरणका लागि, यदि डिभाइस अत्यधिक हिट भइरहेको छ भने, त्यसलाई केही समयका लागि पूर्ण रूपमा पावर अफ गर्नु अझ राम्रो हुन्छ । यसो गर्दा डिभाइस केही समयमै कूल हुन्छ ।



















