आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम छलफलको लागि टेबल गर्ने कार्यतालिका भए पनि प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले संसद अवरोध गरेका छन् ।

सो विषयमा सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई बोल्ने समय दिए । कांग्रेस सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्रीको उपस्थिति नभएमा संसद बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, एमालेले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने माग राखेको थियो ।

कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद बैठक रोकेर राजनीतिक दलका संसदीय दलका नेता तथा सचेतकहरूसँग बैठक राखेर छलफलपछि बैठक अघि बढाउन प्रस्ताव गरेका थिए । त्यसको जवाफमा सभामुख अर्यालले नीति तथा कार्यक्रम ‘अहिले टेबुल गरौँ छलफल गरौँ पछि सरकारसँग संवाद भइन रहन्छ’ भनेका थिए ।
तर, पनि विपक्षी सांसद तयार भएनन् । ‘सदन चल्न नदिने नै उद्देश्य हो भने त्यो विषयमा छलफल गरौँ । यहाँहरू चारपाँच जना माननीयहरूले राख्नुभएको कुरा सुनेँ । मैले आफ्नो कुरा पनि राखे । अब संसद अघि बढाऔँ,’ सभामुखले प्रस्ताव गरे । तर, विपक्षी दलका सांसदहरू टसमस नभएपछि सभामुख अर्यालले १५ मिनेटको लागि संसद बैठक स्थगित गरे ।


















