अत्तरिया– कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूको निःशुल्क दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन गर्न कोटेशन माग गरेको छ । बुधबार बसेको समितिको सातौँ बैठकले व्यवसायीहरूको दुर्घटना बिमाका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

संघले नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै बसेको पहिलो बैठकबाट संघमा दर्ता तथा नवीकरण भएका व्यवसायका सञ्चालकहरूको एक लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बिमा गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि बिमा कम्पनीहरूबाट कोटेशन माग गरिएको अध्यक्ष कमल कडायतले जानकारी दिए ।

व्यवसायीहरू नै संस्थाका मुख्य आधारस्तम्भ भएकाले उनीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर बिमा कार्यक्रम अघि बढाइएको उनले बताए । यस कार्यक्रमले व्यवसायीहरूलाई संस्थाप्रति थप जिम्मेवार र नजिक बनाउनुका साथै संघ र व्यवसायीबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास अध्यक्ष कडायतले व्यक्त गरे ।




















